नेपालगञ्ज : विश्व आत्महत्या रोकथाम दिवस आज नेपालमा पनि विभिन्न सचेतनामुलक कार्यक्रममा साथ मनाइएको छ ।
हरेक वर्षको सेप्टेम्बर १० का दिन यो दिवस मनाइन्छ । यो वर्षको दिवसको नारा ‘आत्महत्या रोकथामबारे संवाद सुरु गरौँ, दृष्टिकोण बदलौँ’ भन्ने रहेको छ । नेपालमा आर्थिक वर्ष २०८०÷८१ मा सात हजार २२३ जनाले आत्महत्या गरेको तथ्याङ्क छ ।
नेपालमा सरदर दिनमा २० जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्कले देखाएको छ । नेपालमा वयस्कमा ६.५ प्रतिशत र ३.९ प्रतिशत किशोरकिशोरीले आत्महत्या गर्ने सोँच राख्ने गरेको र १५ देखि ४५ वर्षका प्रजनन उमेर समूहका महिलाहरूको मृत्युको पहिलो कारण आत्महत्या रहेको छ ।
आत्महत्याका धेरै कारणहरूमध्ये बायोलोजिकल कुरा, मानसिक रोग, फिजिकल, साइकोसोसियल, साइकोलोजिकल कारण रहेका छन् । त्यस्तै सामाजिक, सांस्कृतिक र आर्थिक कारणले पनि आत्महत्या गर्ने गरेका छन् । आत्महत्याको उच्च जोखिममा रहेका वर्गको पहिचान गरी उनीहरूलाई निरन्तर निगरानीमा राख्नुपर्ने विज्ञहरुको भनाइ छ ।
बाँकेमा २०७९÷८० मा ११५ जनाले आत्महत्या गरेका थिए भने ५९ जना पुरुष, ५६ जना महिला र १६ वर्ष मुनिका ११ जना बालिका आत्महत्या गरेको बाँके प्रहरीले जनाएको छ । प्रहरीका अनुसार १०१ जनाले झुण्डिएर र १४ जनाले विष सेवन गरेर आत्महत्या गरेको जनाएको छ ।
यस्तै गत आर्थिक वर्षमा १०९ जनाले आत्महत्या गरेको बताउँदै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक यम बहादुर बुढा मगरले ९४ जना झुण्डिएर र १३ जना विष सेवन गरेर आत्महत्या गरेको जानकारी दिए ।
चालु आर्थिक वर्षको साउन र भाद्र महिनामा मात्रै १३ जनाले आत्महत्या गरेको बताउँदै उनले ११ जना झुण्डिएर र २ जना विष सेवन गरेर आत्महत्या गरेको बताए । प्रहरी निरीक्षक मगरले भने, ‘आत्महत्यासँग जोडिएर अपराध संहिताले गरेका आत्महत्या दुरुत्साहन सम्बन्धी व्यवस्थाका आधारमा धेरैजसो कसुरमा दुरुत्साहन भयो कि, उपचार र स्याहार राम्रो भएन कि भनेर प्रहरीले अनुसन्धान गर्छ ।’
प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी कोशी प्रदेशमा आत्महत्याका मुद्दा दर्ता भएका छन् भने त्यसपछि क्रमशः बागमती, लुम्बिनी, मधेस, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेश रहेका छन् । आत्महत्या गर्नेमा ५५ प्रतिशत पुरुष, ३४ प्रतिशत महिला, ४ प्रतिशत बालक र ६ प्रतिशत बालिका रहेका छन् ।
उमेर समूहमा सबैभन्दा बढी १५ देखि २५ वर्षका युवाहरू २१ प्रतिशत, जातीय आधारमा सबैभन्दा बढी आदिवासी जनजाति ३९ प्रतिशत, शैक्षिक स्तरको आधारमा साधारण लेखपढ गर्ने ६३.१ प्रतिशत र पेसाको आधारमा सबैभन्दा बढी कृषि पेसा गर्ने ४६ प्रतिशत मानिसहरूले आत्महत्या गरेको पाइएको छ ।
मेडिकल कलेज नेपालगञ्जमा कार्यरत मनोचिकित्सक डा. नैमुद्दीन अन्सारीले अहिले क्षेत्रीयस्तरका र निजी मेडिकल कलेजस्तरका अस्पतालमा मानसिक रोग सम्बन्धी विशेषज्ञहरू उपलब्ध रहेको बताए । यसले सहरी क्षेत्रमा केही मात्रामा मनोचिकित्सकहरूको पहुँच रहे पनि ग्रामीण क्षेत्रका मानिसहरूसम्म अझै मनोचिकित्सकहरूको पहुँच नपुगेको जिकिर गरे ।
डा. अन्सारीले भने,‘जीवनदेखि निराश भएमा, आत्महत्या गर्ने सङ्केत दिएमा, बारम्बार आत्महत्याको बारेमा कुरा गरेमा, निराशाजनक कुरा गरेमा डिप्रेसनको उपचारमा गइहाल्नुपर्छ । यसमा बिरामीलाई आफन्तहरूले सघाउनुपर्छ,।’ अधिकांश अवस्थामा बिरामीले पनि उक्त समस्यालाई समस्याको रूपमा नलिने र आफन्तहरूले पनि सही तरिकाले अवस्थाको मूल्याङ्कन गर्न नसक्ने अवस्था रहेको उनको भनाई थियो ।
बहुसाँस्कृतिक मनोसामाजिक संस्था नेपाल (टिपिओ) का कार्यक्रम विभाग प्रमुख एवं मानसिक स्वास्थ्यका अभ्यासकर्ता पीताम्बर कोइरालाले मानसिक स्वास्थ्यबारे विद्यालयस्तरबाटै सचेतीकरणको काम शुरु गर्नुपर्ने बताए । विद्यार्थीहरूबाटै मानसिक स्वास्थ्यका विषयमा जागरूकता भयो र मानिसलाई थाहा भयो भने मानसिक समस्याबाट जोगाउन सकिने उनको भनाई छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार