Listen LIVE

बुद्धका उपदेश आत्मसात गर्न मुख्यमन्त्री आचार्यको आह्वान

दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले २५७० औँ बुद्ध जयन्तीको अवसरमा शान्ति, सद्भाव र सहिष्णुताको मार्ग अवलम्बन गर्न सबैमा आह्वान गरेका छन् ।

बुद्ध जयन्तीका अवसरमा जारी शुभकामना सन्देशमा उनले गौतम बुद्ध का उपदेशहरूलाई आत्मसात गर्न सके धार्मिक, सांस्कृतिक र सामाजिक विविधताबीच आपसी सद्भाव र राष्ट्रिय एकता थप सुदृढ हुने विश्वास व्यक्त गरे ।

वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण भएको त्रिसंयोगका कारण यस दिनलाई विशेष श्रद्धा र उत्साहका साथ मनाइने उल्लेख गर्दै उनले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गरे ।

मुख्यमन्त्री आचार्यले विश्व शान्तिका प्रतीक बुद्धको जन्मस्थल लुम्बिनी सम्पूर्ण नेपालीको गौरवको केन्द्र भएको उल्लेख गर्दै यसको संरक्षण र विकासमा सबैको साझा दायित्व रहेको बताए । उनले लुम्बिनीको समग्र विकासका लागि तयार गरिएको गुरुयोजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिए ।

प्रदेश सरकारले लुम्बिनीलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटनको प्रमुख केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित विभिन्न कार्यक्रम अघि बढाइरहेको जनाउँदै उनले बुद्धका अहिंसा, सदाचार र शान्तिका शिक्षाले व्यक्ति, समाज र राष्ट्रको समग्र उन्नतिमा सकारात्मक योगदान पु¥याउने विश्वास व्यक्त गरे । उनले बुद्धका अमूल्य उपदेशहरूलाई स्मरण गर्दै सम्पूर्ण मानव समुदायमा सहिष्णुता, एकता, अहिंसा र समर्पणको भावना जागृत होस् भन्ने कामना गरे ।

प्रतिक्रिया