Listen LIVE

कोहलपुरमा निःशुल्क बाली उपचार शिविर

कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकाले नगरका विभिन्न वडाहरूमा पुगेर किसानलाई बाली उपचार शिविरमार्फत सेवा पु¥याइरहेको छ । नगरपालिकाको कृषि विकास शाखाले किसानहरूलाई पायक पर्ने ठाउँमै पुगेर निःशुल्क बाली उपचार शिविर सञ्चालन गरेको हो ।

कृषि विकास शाखा प्रमुख कल्पना नेपालीले बाली उपचार शिविरमार्फत किसानको खेतबारीमा लगाइएका बालीमा लागेका रोग, कीरा तथा अन्य समस्याको पहिचान गरी स्थलगत उपचार र सल्लाह प्रदान गरिएको बताइन् । 

उनले शिविरमा जैविक विधिबाट बाली जोगाउन र विषादीको जथाभाबी प्रयोग रोक्नका लागि सचेतना गराइँदा किसानहरू लाभान्वित हुने गरेको बताइन् । किसानहरूले रोग लागेका बोटबिरुवाको नमुना शिविरमा ल्याएर चेकजाँच गराउने, प्रश्न सोध्ने तथा समाधान पाउन सक्ने भएका कारण शिविर महत्त्वपूर्ण भएको उनले बताइन् । 

शिविरले अनुसन्धान र किसानबिचको सम्बन्धलाई सुदृढ पार्ने र कृषि उत्पादनको क्षति न्यूनीकरणमा मद्दत पु¥याउने उनको भनाइ छ । कृषि विकास शाखाकी प्राविधिक सहायक कालिका आचार्यले वार्षिक कार्यक्रम अनुसार नगरका दुई वटा वडामा शिविर सञ्चालन गरिएको जानकारी दिइन् । 

उनले वडा नम्बर १४ र १५ मा शिविर सञ्चालन गरिएको बताइन् । शिविरबाट किसानका बालीनालीमा देखिएका समस्या पहिचान तथा समाधान र नियन्त्रणका उपायहरू किसानलाई जानकारी गराइएको उनले बताइन् । 

'हुनेखाने र सम्पन्न किसानहरू प्रयोगशालासम्म गएर परीक्षण गराउनुहुन्छ, तर सामान्य तथा विपन्न वर्गका किसानहरूको पहुँच हुँदैन । उहाँहरुलाई लक्षित गरेर हामीले यो शिविर निःशुल्क सञ्चालन गरेका हौँ, हामी किसानको घरनजिकै पुगेर यो सेवा दिइरहेका छौँ, जसका कारण अधिकांश किसानहरू लाभान्वित हुनुभएको छ. आचार्यले भनिन् ।

उनका अनुसार वडा नम्बर १५ मा सञ्चालन गरिएको शिविरबाट करिब एक सय जना किसान र वडा नम्बर १४ हवल्दारपुरस्थित कृषि हाटबजारमा सञ्चालन गरिएको शिविरबाट ४० भन्दा बढी किसान लाभान्वित भएका छन् ।

बाली संरक्षण प्रयोगशाला खजुराका विज्ञ डाक्टरहरूको टोलीसहित कृषि शाखाका प्राविधिकहरूले किसानले ल्याएका विभिन्न बालीनालीका नमुना परीक्षण गरिएको उनले जानकारी दिइन् ।

कृषि शाखाले हरेक वर्ष वार्षिक कार्ययोजना बनाएर किसानमैत्री कार्यक्रमहरु सञ्चालन गरिरहेको जनाएको छ । शाखाका अनुसार वैशाख २१ र २२ गते नगरपालिका परिसरमा माटो परीक्षण शिविर पनि सञ्चालन गर्न लागेको जनाएको छ ।

प्रतिक्रिया