डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिका–१, कृषि चौफेरी गाउँमा हालै भएको भीषण आगलागीबाट घरबारविहीन बनेका ६ परिवारलाई राहत सामग्री प्रदान गरिएको छ ।
आगलागीबाट हग्गु यादव, कृपाराम यादव, कुँवारे यादव, लल्लु यादव, सञ्जय यादव र अरुण यादवका घर पूर्ण रूपमा जलेर नष्ट भएका थिए ।
डुडुवा गाउँपालिकाले प्रभावित परिवारलाई नगद तथा खाद्यान्न सामग्रीसहित राहत उपलब्ध गराएको हो । प्रत्येक परिवारलाई ५ हजार रुपैयाँ नगदका साथै एक बोरा चामल, ५ किलो दाल, ५ लिटर खाने तेल, ५ किलो आलु, त्रिपाल, चिउरा, चाउचाउ, बिस्कुट, गुड, मिठाई र एक पेटी पानी वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी स्वयं प्रभावित क्षेत्रमा पुगेर राहत हस्तान्तरण गरेका थिए । उनले आगलागीका कारण ठूलो क्षति भएको अवस्थामा तत्कालका लागि यो सहयोगले केही राहत पुग्ने बताए ।
राप्ती नदीको कटान र डुबानको उच्च जोखिममा रहेको उक्त क्षेत्रमा गर्मी याममा आगलागीका घटना दोहोरिने गरेका छन् । स्थानीयले दीर्घकालीन जोखिम न्यूनीकरणका योजना आवश्यक रहेको बताएका छन् ।
तत्काल राहत उपलब्ध भए पनि पीडित परिवारको पुनःस्थापना र सुरक्षित आवासको चुनौती भने अझै कायमै रहेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार