नेपालगञ्ज : चुरे र भावर क्षेत्रमा हुने चरम पानीको अभावलाई समाधान गर्न बाँके राष्ट्रिय निकुञ्जले निर्माण गरेका ३० वटा कृत्रिम पोखरीले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण र समग्र पारिस्थितिक प्रणाली (इकोसिस्टम) सुधारमा महत्त्वपूर्ण सफलता हासिल गरेको छ ।
सुख्खायाममा पिउने पानीको खोजीमा भौंतारिँदै मानव बस्तीसम्म पुग्ने वन्यजन्तुहरूलाई निकुञ्जभित्रै पानीको पर्याप्त सुविधा भएपछि अहिले बस्ती पस्ने क्रममा कमी आएको राप्तिसोनारी गाउपालिका अगैया, बाकेका प्रेमबहादुर कुमालले बताए । उनका अनुसार पछिल्लो समय निकुञ्ज आसपासका स्थानीय समुदाय र वन्यजन्तुबिच हुने द्वन्द्व उल्लेख्यरूपमा घटेको छ ।
उनी भन्छन, 'अब पहिलाको अवस्था भन्दाखेरि पहिला त सताकै हो, जङ्गली जनावरले । तर, अहिले त्यो रोकथाम भइसकेको छ । पहिलाको तुलनामा धेरै कम भाछ, त्यस्तो नोक्सानीहरू चैँ गरेको छैन अहिले ।'
बाघको वासस्थान विस्तार गर्ने मुख्य उद्देश्यका साथ स्थापना भएको यस निकुञ्जले चुरे र भावर पारिस्थितिक प्रणालीको प्रतिनिधित्व गर्दछ । यस भौगोलिक क्षेत्रको विशिष्ट बनावटका कारण सतहमा पानीको मात्रा अत्यन्तै न्यून हुने गर्छ ।
प्राकृतिकरूपमा चङ्गाई नाला र मुगुवा खोलाबाहेक बाह्रै महिना पानी उपलब्ध हुने भरपर्दो स्रोत नभएको अवस्थामा, वन्यजन्तुलाई पानीको अभाव हुन नदिन निकुञ्जले सौर्य ऊर्जा प्रणाली (सोलार सिस्टम)को प्रयोग गरी डिप बोरिङमार्फत पानी तानेर पोखरीहरू भर्ने व्यवस्था मिलाएको छ । यस नवीन प्रविधिले करिब ७२ किलोमिटर क्षेत्रमा फैलिएको निकुञ्जभित्रको पानीको हाहाकारलाई न्यूनीकरण गर्दै जङ्गलको समग्र पारिस्थितिक प्रणालीमा सन्तुलन ल्याएको छ ।
निकुञ्जभित्रै बाह्रै महिना पानी र घाँसे मैदानको उचित व्यवस्थापन भएपछि वन्यजन्तुको बासस्थानमा उल्लेख्य सुधार आएको बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत विरेन्द्र प्रसाद कणेलले बताए ।
उनले भने, 'यसको फलस्वरूप बाघको मुख्य आहार मानिने चितल, चौका, रतुवा, निलगाई र जरायो लगायतका वन्यजन्तुको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ । आहारा प्रजातिका वन्यजन्तुको सङ्ख्या बढेसँगै निकुञ्जमा बाघको सङ्ख्यामा पनि सकारात्मक प्रभाव परेको छ ।'
विगतका वर्षहरूमा पानी र आहाराको अभाव झेल्दै मध्यवर्ती क्षेत्र अन्तर्गत पर्ने बाँके, दाङ र सल्यान जिल्लाका गाउँहरूसम्म पुग्ने वन्यजन्तुहरू अहिले निकुञ्जको भित्री (कोर) क्षेत्रमै रमाइरहेका छन् ।
कृत्रिम पानी पोखरी निर्माणको यो अभ्यासले वन्यजन्तुको संरक्षण र पारिस्थितिक प्रणालीलाई सन्तुलित राख्न मात्र मद्दत गरेको छैन, मानव बस्तीलाई सुरक्षित राख्दै निकुञ्ज र स्थानीय समुदायबिचको सम्बन्धलाई समेत सुदृढ र भयरहित बनाएको संरक्षणकर्मी कृष्णप्रसाद थारुले बताए ।
यता, भूमिगत जलस्रोत विज्ञ रमेश गौतमका अनुसार भूमिगत जलस्रोतको प्रयोग गर्नुभन्दा आकाशेपानीलाई स्टोर गरेर कृत्रिम ताल–तलैया बनाउन सके, भुमिगत पानीको सतह पुनर्भरणमा सहयोग हुने र पारिस्थितिक प्रणालीको सन्तुलन कायम गर्न मद्दत पुग्न सक्छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार