बर्दिया : बर्दियाको गेरुवा गाउँपालिका–४ का किसान हात्ती धपाउन रातभर जाग्राम बस्न लागेको २२ दिन बित्यो । रातभर जाग्राम बस्दासमेत हात्तीले धान खान नछोडेपछि किसान चिन्तित भएका छन् ।
गेरुवा गाउँपालिकाको छ वटै वडामा बर्दिया राष्ट्रिय निकुञ्जबाट गएका हात्तीले सताउने गरेको छ । बर्सेनि हात्तीको आतङ्कबाट पीडित बन्ने गरेका किसान यस वर्ष पनि सोही समस्यामा छन् । गेरुवा (कर्णाली नदीको पूर्वी भँगालो) नदी तरेर हात्ती नदी तटीय क्षेत्रमा आउने गरेका छन् ।
निकुञ्जसँग सिमाना जोडिएका शान्तिपुर ढुकुनिया, दाङपुर, राजीपुर, गोला र खल्लागाउँमा १५ बिघा खेतको धान पूर्णरूपमा नष्ट गरेको गेरुवा उपभोक्ता समितिका अध्यक्ष दिनेशबहादुर शाहीले बताए । उनले तीन वटा भाले हात्ती २२ दिनदेखि लगातार अलग अलग ठाउँबाट खेतमा प्रवेश गरेको जानकारी गराए ।
बर्षायाममा किसान राति मचानमा बस्न नसकेकाले हात्तीले धेरै नोक्सान गरेको उनले बताए । भाले हात्ती भएकाले किसानलाई अत्यन्त जोखिम छ । उनले भने, 'पटक पटक हात्ती डार्ट गर्नका लागि भन्दा पनि निकुञ्जले सुनुवाइ गरेको छैन । हात्ती धपाउन टर्चहरूको व्यवस्था पनि हुन सकेको छैन ।'
हात्ती रोक्नका लागि भरपर्दो छेकबार नभएका कारण किसानको खेतमा छिर्ने गरेको गेरुवा गाउँपालिका–४ का वडाध्यक्ष महेन्द्रप्रसाद चौधरीले बताए । उनले हात्ती छेकिने गरेर गेरुवा नदीमा ड्यामसहितको तटबन्ध गर्नुपर्ने बताए । हात्तीबाट भएको क्षति तत्काल मूल्याङ्कन गरी राहत दिनुपर्ने उनको भनाइ छ ।
गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले हात्ती छेकबार र तटबन्ध निर्माण कार्य निकुञ्जको सीमा विवादका कारण हुन नसकेको बताए । उनले सरकारले स्थानीय र निकुञ्जको सीमा विवाद समाधान गरी स्थायी रूपमा हात्ती छेकबार निर्माण गर्नुपर्ने बताए ।
बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष हेमन्त आचार्यले यस वर्षको हात्ती आतङ्क सुरु भएको बताए । उनले ठाकुरबाबा नगरपालिका–७, मधुवन नगरपालिका–१ र गेरुवा गाउँपालिकामा हात्ती खेतमा पसेको जानकारी गराए ।
हालसम्म सबैभन्दा बढी गेरुवा गाउँपालिकामा हात्ती आतङ्क देखिएको बताउँदै किसानको खेत र जङ्गलसँगसँगै भएको हुनाले अत्यन्त जोखिम रहेको बताए । निकुञ्ज र स्थानीयबिचको सीमा विवादका कारण पनि नदीमा तटबन्ध र व्यवस्थित छेकबार लगाउन सकिएको छैन । त्यसैले पनि गेरुवा गाउँपालिकामा हात्ती आतङ्क बढी छ ।
बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी महेश न्यौपानेले हात्ती आतङ्क रोक्न नियमित गस्ती र सचेतनाको कार्यक्रम गरिरहेको बताए । बर्दिया राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा हात्ती, बाघलगायत वन्यजन्तुबाट भएको क्षतिबापत एक करोड ७८ लाख ६२ हजार राहत वितरण गरेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार