Listen LIVE

'आमा सुरक्षा तथा नवजात शिशु कार्यक्रम' सञ्चालन

नेपालगञ्ज : बाँकेको कोहलपुरमा रहेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा फेरी 'आमा सुरक्षा तथा नवजात शिशु कार्यक्रम' सञ्चालनमा आएको छ । 

गत एक वर्ष बन्द रहेको सो कार्यक्रम अस्पतालमा पुनः सञ्चालनमा आएपछि कोहलपुर र आसपासका क्षेत्रका विपन्न नागरिकलाई प्रसूति सेवा र नवजात शिशु उपचार सेवामा सहजता भएको कोहलपुर नगरपालिकाले जनाएको छ । 

कोहलपुर नगरपालिका र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरबिच 'आमा सुरक्षा तथा नवजात शिशु कार्यक्रम' सञ्चालनसम्बन्धी सम्झौता भएपछि सो कार्यक्रम सञ्चालन गरिएको कोहलपुर नगरपालिकाका उपप्रमुख संगिता सुवेदीले बताइन् । 

उनले आमा सुरक्षा कार्यक्रमसँगै नवजात शिशु सुरक्षा कार्यक्रमसमेत समेटिएपछि नगरपालिका र मेडिकल कलेजबिच सम्झौता सम्भव भइ कार्यक्रम सञ्चालनमा आएको बताए । आमा सुरक्षा कार्यक्रममा नवजात शिशु सुरक्षा कार्यक्रमसमेत समेट्न कोहलपुर नगरपालिकाले मेडिकल कलेजलाई गत वर्षदेखि आग्रह गर्दै आएको थियो । 

सोही विषयमा सहमति हुन नसक्दा गत वर्ष आमा सुरक्षा कार्यक्रम सो अस्पतालमा बन्द गरिएको थियो । कार्यक्रम बन्द हुँदा सो क्षेत्रका सयौं महिला तथा नवजात शिशुको उपचारमा स्थानीयलाई समस्या भएको थियो । कार्यक्रम पुनः सञ्चालनमा आएपछि आर्थिक रूपमा कमजोर नागरिकलाई यसबाट ठुलो राहत पुग्ने कोहलपुर नगरपालिकाकी नगर उपप्रमुख सुवेदीले बताइन् । उनले कार्यक्रम सञ्चालनमा आएपछि आर्थिक अभावकै कारण गर्भवती तथा सुत्केरी महिलाले ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्न सहयोग पुग्ने जनाइन् । 

कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले नेपाल सरकारको मापदण्डअनुसार नेपालगञ्ज मेडिकल कलेजसँग सम्झौता गरी आमा सुरक्षा कार्यक्रम सञ्चालनमा ल्याइएको बताए । 

उनका अनुसार यसअघि सञ्चालनमा रहेको आमा सुरक्षा कार्यक्रममा नवजात शिशु सुरक्षा कार्यक्रमसमेत जोड्न नगरपालिकाले गरेको आग्रह मेडिकल कलेजबाट स्वीकार नभएपछि एक वर्षसम्म आमा सुरक्षा कार्यक्रम नै अवरुद्ध हुन पुगेको थियो । 

नेपालगञ्ज मेडिकल कलेजका निर्देशक प्रा.डा. रेशमबहादुर रानाले कार्यक्रमका लागि कोहलपुर नगरपालिकासँग सम्झौता भए पनि यसबाट देशभरका गर्भवती महिला तथा नवजात शिशुले सेवा पाउने बताए । उनले शिशुलाई समेत सुविधा दिन सक्ने व्यवस्थापन कोहलपुर मेडिकल कलेजले गरेका कारण शिशु उपचार सेवा पनि थप गरिएको जानकारी दिए ।

कार्यक्रम सञ्चालन गर्ने सम्झौतामा कोहलपुर नगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत गिरी र नेपालगञ्ज मेडिकल कलेजका तर्फबाट निर्देशक प्रा.डा. रानाले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया