राप्तीसोनारी (बाँके) : बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. २ मदुवाका १८ वर्षीय उमेश खत्री शारीरिक रूपमा अशक्त छन् । उनको दुई वटै हातले कुनै पनि काम गर्न सक्दैन । खुट्टा पनि सामान्य अवस्थामा छैन ।
खत्रीले २०८० सालको एसइईमा लक्ष्मी मावि मदुईबाट सहभागी भएर खुट्टैले लेखेर २ दशमलव ९२ जिपिएसहित उत्तीर्ण गरे । प्राविधिक धारतर्फ कृषि बाली विज्ञानबाट उमेशले एसइई उत्तीर्ण गरे । उक्त विद्यालयबाट साधारणतर्फ ५८ जना विद्यार्थीले एसइई दिएका थिए, जसमा पाँच जना उत्तीर्ण भए भने प्राविधिक धारतर्फ ४७ जना विद्यार्थीले एसइई दिएका थिए, जसमा उमेशसहित सात जना मात्र उत्तीर्ण भएका छन् ।
जन्मँदै हात र खुट्टा नचल्ने अवस्थामा जन्मेका खत्री पाँच छ वर्षको उमेरमा परिवारले काठमाडौँमा लगेर उपचार गरेपश्चात् खुट्टा भने अलिअलि चल्ने भयो र सामान्य हिँडडुल गर्न सक्ने भएको बताउँछन् उमेश । “मेरो शारीरिक अवस्था देखेर कति जनाले दया माया गर्नुहुन्छ, उहाँहरूको तर्फबाट ठिकै हो, तर म मेरो शारीरिक अवस्थाका बारेमा एकदमै सन्तुष्ट छु, शारीरिक रूपमा अशक्त भए पनि आत्मविश्वासमा म एकदमै बलियो छु ।”
“अरू सामान्य अवस्थाका मान्छेले गर्न नसकेको काम मैले गर्न पाउँदा म अत्यन्तै सन्तुष्टि छु, धेरै साथीहरूले मसँगै एसइई दिनुभयो, तर धेरै जना असफल हुनुभयो, म भने उत्तीर्ण भएँ ।” उमेशले भने, “मैले खुट्टाले नै लेखेर एसइई उत्तीर्ण गर्दा सबै जना खुसी भएर बधाई दिइरहनु भएको छ, यसले मलाई अझै प्रोत्साहन गरेको छ, मेरो शारीरिक अशक्तता छ भन्ने नै म बिर्सन्छु, मलाई अगाडि बढ्न थप हौसला प्रदान भएको छ, म कमजोर छैन भन्ने पुष्टि भएको छ ।”
“शारीरिक अशक्तताका कारण खुवाउने, दिशा पिसाब गराउने, कपडा लगाइदिने, नुहाई दिने लगायतका हातले गर्नुपर्ने काम सबै अरूले गरिदिनुपर्दा भने कहिलेकाहीँ दुःख लाग्छ । घरमा सबै काम आमाले गरिदिनुहुन्छ, स्कुल आउँदा शिक्षक र साथीभाइहरूले सहयोग गरिदिनुहुन्छ, शिक्षक र साथीभाइहरू अत्यन्तै मिलनसार हुनुहुन्छ, कहिले पनि रिसाउनुहुँदैन, धेरै साथ र सहयोग पाएको छु ।” उमेशले भने ।
“सबै कामहरू अरूले गरिदिँदा कहिलेकाहीँ भने दुःख लाग्छ, मेरो पनि हात चल्ने भए अझै थुप्रै प्रगति गर्न सक्ने थिएँ होला, आमा र साथीभाइ तथा शिक्षकहरूलाई दुःख दिनुपर्दैन थियो जस्तो लाग्छ ।” उनले भने, तर मेरो हातको उपचार नेपालमा सम्भव छैन भनेर चिकित्सकले भनेका छन्, विदेशमा गएर उपचार गर्ने परिवारको स्थिति छैन, सामान्य मान्छेको जस्तो जीवन यापन गर्न हुन्थ्यो भन्ने लाग्छ, कसैले सहयोग गरिदिएर उपचार गराइदिए त अत्यन्तै आभारी हुने थिएँ ।” उनले भने ।
“म खुट्टैबाट मोबाइल चलाउँछु, फेसबुकलगायतका सामाजिक सञ्जाल चलाउँछु, कम्प्युटर चलाउँछु, लेख्छु, कुनै गाह्रो हुँदैन, तर धेरै समयसम्म लेख्दा भने अप्ठ्यारो हुन्छ, लामो समयसम्म उभिन र हिँडडुलसमेत गर्न सक्दिन ।” उमेशले भने ।
कोही सहयोगी मनहरू भए ११ कक्षा पढ्नका लागि बाहिर राम्रो ठाउँमा जाने विचार रहेको उनले बताए । “कसैले सहयोग गरिदिए त राम्रो सहरमा गएर थप अध्ययन गर्ने रहर थियो, तर अलि गाह्रो नै छ, म एक्लै गएर पनि भएन, मसँग मेरो हेरविचार गर्न मम्मी पनि जानुप¥यो, डबल खर्च हुने भयो ।” उमेशले भने, “त्यसो नभए यही स्कुलमा अध्ययन गर्छु, यही स्कुलमा अझै धेरै प्रयास गर्छु ।”
उमेश सानैदेखि जेहेन्दार, मिहिनेत र साहसी छात्र भएको बताउँछन् लक्ष्मी माविका प्रधानाध्यापक लक्ष्मण आचार्य । “उमेश अत्यन्तै अनुशासित, जेहेन्दार, मिहिनेत र साहसी छात्र हुन, शारीरिक अवस्था त्यसो हुँदा पनि उनले कहिल्यै आफू कमजोर भएको महसुस गरेनन्, आफ्नो शरीरप्रति कहिले ग्लानि गरेनन् ।” प्रअ आचार्यले भने ।
“उमेशमा अत्यन्तै ठुलो आत्मविश्वास छ, एसइई दिने समयमा शारीरिक अशक्त भएका व्यक्तिलाई सहयोगीमार्फत परीक्षा दिने व्यवस्था छ, हामीले आग्रह गर्यौं सहयोगी राख्न, तर उनले मानेनन् ।” प्रअ आचार्यले भने, “म अरूभन्दा कमजोर छैन, म मेरो परीक्षा आफै दिन्छु भने, खुट्टाको दुइटा औँलाको बिचमा कलम च्यापेर एसइई दिए र सफल भए ।”
“उमेशको बाहिर राम्रो सहरमा गएर अध्ययन गर्ने रहर छ, तर घरको स्थिति राम्रो छैन, कुनै सहयोगी संघसंथाले सहयोग गरेर बाहिर अध्ययन गर्न गए भने ठिकै छ । नभए उनलाई विद्यालयले नै यहीँ निःशुल्क अध्ययन गर्ने व्यवस्था गर्छौँ ।” उनले भने ।
उच्च शिक्षा अध्ययन गरेर भविष्यमा सरकारी जागिर खाने र परिवारको आर्थिक अवस्थामा टेवा पुराउनुका साथै देशको सेवा गर्ने इच्छा रहेको उमेश बताउँछन् । उमेशको घरको आर्थिक अवस्था सामान्य रहेको छ । उनका बुवा, आमा र एक भाइ छन् । घरपरिवार चलाउनका लागि बुवा सरकारी सेवामा जिल्ला बाहिर छन् भने आमाले घरमा खेती किसानी गर्छिन् । (गोरखापत्रबाट)
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार