Listen LIVE

विद्युतीकरणसँगै लोप हुँदै पानीघट्ट

जुम्ला : जुम्लामा परम्परागत रूपमा सञ्चालन हुँदै आएका पानीघट्ट अहिले क्रमशः लोप हुँदै गएका छन् । कुनै समय ग्रामीण जनजीवनको अभिन्न अङ्ग मानिने यी घट्ट अहिले आधुनिक प्रविधिको विकाससँगै हराउँदै जान थालेका हुन् । 

स्थानीयस्तरमा उत्पादित जौ, गहुँ, कोदो र मकै जस्ता अन्न पिस्नका लागि पानीघट्ट नै प्रमुख सहारा थियो । पानीको बहाबका आधारमा सञ्चालन हुने यी घट्टमा अन्न पिस्नका लागि रातभर जाग्राम बस्नु पथ्र्याे । 

जुम्लाको पातारासी गाउँपालिका–१, स्यालागडीगाउँका स्थानीयवासी लालकली बुढाका अनुसार उतिबेला दियालोको मधुरो उज्यालोमा रातभर नसुती घट्टमा अन्न पिस्ने गरिन्थ्यो । अन्न पिस्ने धेरै समय लाग्ने भएकाले पालैपालो बस्ने चलन पनि थियो । 

पछिल्लो समय गाउँ गाउँमा विद्युत् सेवा विस्तार भएसँगै विद्युतीय मिलको प्रयोग बढेको छ । अहिले अन्न पिस्नका लागि धेरै समय खर्चिनु पर्दैन, आधा घण्टामै काम सम्पन्न हुने गरेको उनको भनाइ छ । यसले मानिसको श्रम र समय दुवै बचत गरेको छ । 

आधुनिक मिल सहज, छिटो र प्रभावकारी भएकाले परम्परागत पानीघट्टको प्रयोग क्रमशः घट्दै गएको छ । यससँगै मानिसको खानपानमा पनि परिवर्तन आएको छ । पहिले ग्रामीण क्षेत्रमा कोदो, मकै र गहुँबाट बनेका परिकार बढी प्रयोग हुने गर्थे भने अहिले बजारमा सजिलै उपलब्ध हुने चामलको प्रयोग बढेको छ ।

प्रतिक्रिया