Listen LIVE

नेपालगञ्जका घँसियारको पुर्खौली पेशा सङ्कटमा

नेपालगञ्ज : बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–८, घसियारन टोलकी ४५ वर्षीया छोटाना केवट घाँस बेचेर परिवारको गुजारा चलाउँछिन् । छोटानाको कथा मात्र व्यक्तिगत सङ्घर्षको कथा होइन, यो पुस्तौँदेखिको एउटा परम्परा हो, जसमा उनले आफ्ना पुर्खाहरूको जस्तै जीवन बिताउँदै आएकी छन् । ‘पुस्तौँदेखि घाँसमै निर्भर छौँ’ उनी भन्छिन् , ‘तर घाँस बेचेर जीवन चलाउन आजकाल निकै कठिन भएको छ।’

छोटाना र उनका परिवारका लागि घाँस काट्न र बेच्नै मुख्य रोजगारी हो। बिहान सबेरै उठेर नजिकैका जङ्गल र खुला ठाउँबाट घाँस काटेर उनीहरू नेपालगञ्जको बजारमा बेच्न जान्छन्। एक मुठा घाँस बेच्दा ५०–६० रुपैयाँसम्म मिल्छ, तर यो रकमले दिनभरि मेहनत गर्ने परिवारको आवश्यकता पूरा गर्न हम्मेहम्मे पर्ने गरेको छ। ‘पहिले सस्तोमा घाँस पाइन्थ्यो, तर अहिले जङ्गलमा घाँस पातलो हुन थालेको छ, ठाउँ ठाउँमा निजीकरण पनि भएकाले घाँस काट्न गाह्रो भएको छ’ छोटानाले भनिन् ।

उनले प्रायः साना सन्तानको पालनपोषण, घरधन्दासँगै घाँस बेच्ने काम पनि एकसाथ गर्दै आएकी छन् । ‘बल्लतल्ल घाँस काटेर बजारमा पुर्याउँछु, तर मोल घट्दै गएको छ । पहिलेको जस्तो मुनाफा छैन। महँगो भएकोले खर्चसमेत जोगिँदैन ।’

छोटाना जस्ता हजारौँ परिवार बाँके र अन्य ग्रामीण इलाकामा घाँस बेचेरै जीविका चलाउँछन्। यो परम्परागत जीविका भने दिनप्रतिदिन चुनौतीपूर्ण बन्दै गएको छ। वन विनाश, शहरीकरण र चरिचरन क्षेत्रको अभावले गर्दा उनीहरूका लागि घाँस सङ्कलन गर्न सजिलो छैन।

छोटानाका छोराछोरी पनि बिहान स्कुल गइसकेपछि दिउँसोको समय घाँस काट्न र घरको काममा सघाउँछन्। उनीहरूलाई थाहा छ, यो काम आर्थिक दृष्टिकोणले सन्तोषजनक छैन, तर अरू विकल्प नभएकाले उनीहरू पनि यही सङ्घर्षमा सहभागी छन्।

यद्यपि, छोटाना जस्ता घाँस बेचेर जीविका चलाउने परिवारहरूका लागि स्थानीय प्रशासन वा राज्यको सहयोग निकै न्यून छ। घाँस बेच्नेहरूको समुदायले अझैसम्म ठोस सहयोग वा रोजगारीको अवसर नपाएको उनीहरूको गुनासो छ।

छोटाना र उहाँ जस्ता धेरै महिलाहरूको कथा केवल घाँससँग मात्र सीमित छैन। यो जीविकाको साधनलाई निरन्तरता दिनको लागि सङ्घर्ष, आत्मबल, र सामाजिक–आर्थिक समस्याको गहिरो चित्रण हो। उनीहरूको जीविकाको सङ्घर्ष समाजले सम्बोधन गर्ने आवश्यकता छ।

छोटाना जस्ता महिलाहरूले आफ्नो जीवनस्तर सुधार्न, नयाँ रोजगारीका अवसर प्राप्त गर्न र परम्परागत पेसाबाट मुक्त हुन ठूलो सहयोगको आवश्यकता छ।

प्रतिक्रिया