Listen LIVE

शहरमा अर्गानिक कोदोको माग बढ्दै

बाजुरा : बाजुराका दुर्गम गाउँ बस्तीका किसानले उत्पादन गरेको अर्गानिक कोदोको शहरमा माग बढ्दै गएको छ ।गाउँमा उत्पादन बढी हुने तर बिक्री भने सधैँ कम हुने गरेको यहाँको कोदो पछिल्लो समय शहरमा समेत माग हुन थालेपछि अहिले यहाँका किसान पनि निकै खुशी भएका छन् ।

भिरालो तथा पाखो जमिनमा प्रसस्त मात्रामा उत्पादन हुने गरेको कोदो यसरी अहिले शहरका विभिन्न ठाउँबाट माग बढ्न थालेपछि किसान पनि कोदो खेतीमा आकर्षित हुने गरेका हुन् । 

बाजुरामा जेठ, असार र साउनको महिनामा समेत कोदो लगाउने गर्छन् । जेठमा लगाएको कोदो भदौमा पाक्न शुरु हुन्छ भने असार साउनमा लगाएको कोदो मङ्सिरमा पाक्छ ।

यहाँका किसानले गाई गोरु भैँसी भेडाबाख्राको गौत गोबरको मल प्रयाग गरेर कोदो उत्पादन गर्छन् । गाउँमा यसरी उत्पादन गरेको अर्गानिक कोदो स्वास्थ्यका लागि निकै लाभदायिक हुने गरेकोले पछिल्लो समय देशका विभिन्न शहरबाट माग हुने गरेको हिमाली गाउँपालिका –६ की सुरिता रोकायाले बताउँछिन् ।  

उनले भनिन, “गाउँमा पहिलादेखि अहिलेसम्म धेरै कोदो उत्पादन हुन्छ । पहिला कोदो कतै बिक्री हुँदैन थियो । त्यसैले किसान पनि कम कोदो लगाउँथे । अहिले यहाँको कोदो किन्नका लागि शहरदेखि नै व्यापारी गाउँमा आउने गरेपछि पछिल्लो समय कोदो बढी लगाउने गर्छौ  ।”

कोदो खेतीले नै यहाँका किसानको जिविकोपार्जनमा टेवा पुग्ने देखिएकोले अहिले यहाँका आधिकांश पालिकाले समेत किसानलाई कोदो उत्पादनमा बढी जोड दिन थालेका छन् ।

त्यति मात्र नभई अहिले यहाँका आधिकांश विद्यालयहरूमा बालबालिकाहरूको दिवा खाजामा समेत कोदोको परिकार अनिर्वाय गरिएको छ ।

गाउँमै कोदो खपत हुने र त्यसैमा सहरका विभिन्न ठाउँदेखि व्यापारी कोदो किन्न गाउँमै आउने गरेकोले यती बेला यहाँका किसानलाई आर्थिक रुपमा निकै सहज हुने गरेको रोकायाले बताइन् । कोदो स्वास्थ्यका लागि निकै उपयोगी छ । कोदोमा कार्बोहाइड्रेट, प्रोटिन, फाइबर, भिटामिन, क्याल्सियम, म्याग्नेसियम, आइरनजस्ता खनिजको प्रचुरता बढी भएकाले स्वास्थ्यका लागि उपयोगी मानिन्छ । 

गत वर्ष मात्र बाजुराको तल्लो क्षेत्रबाट झण्डै दुइ ट्रक भन्दाबढी अर्गानिक कोदो अत्तरिया, धनगढी, महेन्द्रनगर, नेपालगञ्ज र काठमाण्डौ लगायतका ठूला शहरमा बिक्री भएको बुढीगङ्गा नगरपालिका –१० फुलोटका वरिष्ठ कृषक तथा कोदो व्यापारी भोलाराम जैशीले बताए । 

उनले भने, “हिमाली, जगनाथ, स्वामीकार्तिक, बुढीनन्दा, बडीमालिका गौमुल, बुढीगङ्गा खप्तडछेडेदह र त्रिवेणीलगायतका विभिन्न ठाउँमा कोदो उत्पादन हुन्छ । यहाँ उत्पादन हुने कोदो अर्गानिक हो । हामीले पनि एक किलोलाई तीस रुपैयाँमा खरिद गरि शहरमा पठाएका हौ ।”

पहिला गाउँमा सडक थिएन । बोकेर लान सकिदैन थियो । भाडा बढी लाग्थ्यो । अहिले यहाँका प्रत्येक गाउँ बस्तीमा सडक पुगेका छन् । अनी हामीलाई पनि गाडी लिएर उनीहरुको घरमै जान सहज भएकोले यती बेला यहाँको कोदो सहरमा पुग्ने गरेको जैशीले बताए । 

कोदो खेती स्थानीयको जीविकोपार्जन गर्न सहज देखिएकाले अहिले स्थानीय तहले पनि कोदो खेतीमा उत्प्रेरित गर्दै आएका छन्  ।

यस जिल्लामा दुई लाख ३० हजार ३७ हेक्टर जमिनमध्ये २२ हजार हेक्टर खेतीयोग्य छ । 

त्यसमध्ये पाँच हजार २३५ हेक्टर जमिन वर्षभरि सिँचाइ सुविधा उपलब्ध छ । त्यसमा कोदो खाद्यान्न उत्पादनको योगदान २२.६२ प्रतिशत मात्र रहेको कृषि ज्ञान केन्द्रका प्रमुख जसिराम साहनीले बताए ।

प्रतिक्रिया