नेपालगञ्ज : नेपाल पत्रकार महासंघको जग्गा पुनः कब्जा गर्न खोजिएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको उक्त जग्गालाई वडाअध्यक्ष गोपाल पुनको आडमा स्थानीय माफियाले कब्जा गर्ने प्रयास गरेका हुन् । उक्त जग्गाप्रति माफियाले गतवर्षदेखि नै आँखा लगाउँदै आएका थिए ।
तत्कालिन नेपालगञ्ज नगरपालिकाले २०६६ भदौमा सर्वदलीय र सर्वपक्षीय बैठकको निर्णय अनुसार महासंघलाई कित्ता नम्बर ४३ को ०–२–१४१÷२ क्षेत्रफलको उक्त जग्गा भोगाधिकारका रुपमा उपलब्ध गराएको थियो । उक्त जग्गामा महासंघले दुई वटा भवन निर्माण गरेर कार्यालय सञ्चालन गर्दै आएको छ ।
महासंघको खाली जमिनमा आँखा लगाएर जग्गा ब्यापारी समेतको मिलेमतोमा वडाअध्यक्ष पुन, स्थानीय टोल विकास समितिका अध्यक्ष समेत रहेका माओवादी नेता कर्णबहादुर मल्ल नेतृत्वको समुहले बिना कुनै सहमती रातारात महासंघको जग्गामा रातारात पिसिसी सडक निर्माण गरेका छन् । महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले जग्गा कब्जा गर्ने मन्सायले बाटो पिसिसी गर्न खोजिएको र यसमा वडाअध्यक्ष पुनको पनि संलग्नता रहेको बताए ।
विगत दुई वर्ष अघिदेखि यही समूहले बाटो विवाद सिर्जना गर्र्दा पटक पटक बसेका बैठक र छलफलहरु भएर जग्गा अतिक्रमण रोक्ने प्रतिबद्धता भएको थियो । ‘नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, नेपाल पत्रकार महासंंघ बाँके शाखा अध्यक्ष भण्डारी र नेपालगञ्ज–४ का वडाध्यक्ष गोपाल पुनबीच नगर प्रमुखकै कार्यकक्षमा बसेको बैठकबाट वडाले बजेट विनियोजन गरी सुरु गरेको सडक निर्माण महासंघको जग्गाको सीमानासम्म मात्र गर्ने महासंघको जग्गामा नगर्नु नगराउनु भन्ने नगर प्रमुखको निर्देशन र वडाध्यक्षले प्रतिबद्धता विपरित काम भइरहेको छ, महासंघको जग्गा खण्डित गरी स्थानीय सरकारका जनप्रतिनिधिकै रोहवर र संरक्षणमा जोरजर्बजस्ती अतिक्रमण गर्ने कार्य अख्तियारको दुरुपयोग र कानूनी राज्यको उपहास हो भन्ने हाम्रो ठम्याइँ रहेको छ,’ जारी विज्ञप्तीमा भनिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार