Listen LIVE

जेनजी आन्दोलनमा भागेका १६९ कैदीबन्दी अझै फरार

नेपालगञ्ज : जेनजी आन्दोलनको समयमा बाँके जिल्लाका दुई वटा बाल सुधार गृह तथा एउटा कारागारबाट भागेका १६९ जना बालबन्दी र कैदीहरू अझैसम्म फरार रहेका छन् । आन्दोलनको क्रममा बाँकेबाट ३४० जना बालबन्दी र कैदीहरू भागेका थिए । जसमध्ये हालसम्म १६९ जना कैदी अझै फरार रहेका हुन् । भागेकामध्ये हालसम्म १७१ जना पक्राउ परेका छन् ।

जिल्लाको बैजनाथ गाउँपालिकास्थित नौबस्ता बाल सुधार गृह र डुडुवाको जयन्दु बाल सुधार गृहबाट भागेका १९३ जना बालबन्दीमध्ये हालसम्म ११५ जना पक्राउ परेका छन् । यसैगरी नौबस्ता क्षेत्रीय कारागारबाट भागेका १४७ जना कैदीमध्ये ५६ जना पक्राउ परेका छन् । डुडुवास्थित जयेन्दु बाल सुधार गृहका प्रमुख किशोर शर्माले सो समयमा सुधार गृहमा रहेका २२८ जना बालबन्दीमध्ये ११५ जना भागेका थिए ।

हालसम्म ६८ जना पक्राउ परेको र ४७ जनाको अझैपनि खोजी भइरहेको बताए । नौबस्ता बाल सुधार गृहका प्रमुख श्यामबहादुर रानाले सुधारगृहमा रहेका १७६ जना बालबन्दीमध्ये प्रहरीसँगको झडपमा पाँच जनाको मृत्यु भएको र ७८ जना भागेको बताए । भागेकामध्ये हालसम्म ४७ जना पक्राउ परेको र ३१ जना बालबन्दीको खोजी कार्य भइरहेको उनको भनाइ छ ।

यसैगरी नौबस्ताकै क्षेत्रीय कारागारबाट फरार भएका १४७ जना कैदीमध्ये एक वर्षको अवधिमा ५६ जना पक्राउ परेको तथा १८ जना विदेशीसहित ९१ जनाको खोजी भइरहेको क्षेत्रीय कारागारका प्रमुख दलबहादुर बस्नेतले बताए । उक्त कारागारमा सो समयमा पाँच सय ८५ जना कैदीहरू रहेका थिए । जेनजी आन्दोलनको समयमा बाँके लगायत देशका विभिन्न बालसुधार गृह र कारागारबाट कैदी बन्दीहरू भागेका थिए ।

प्रतिक्रिया