Listen LIVE

बाँकेमा बाघ तथा आहार प्रजातिका वन्यजन्तुको अनुगमन सुरु

नेपालगञ्ज : वन्यजन्तुको आक्रमणबाट बाँकेमा माघ ९ गते बुधबार एकजना महिलाको मृत्यु भयो । राप्तीसोनारी गाउँपालिका–८ ओभरीकी ६७ वर्षीया चेती बुढाथोकीको मृत्यु भएको थियो । उक्त आक्रमण बाघ वा अन्य कुनै वन्यजन्तुबाट भएको हो भन्ने अहिलेसम्म खुलेको छैन । 

पछिल्लो समय विभिन्न संरक्षित क्षेत्र तथा वनजंगल नजिकका बस्तीमा बाघले मानिसमाथि आक्रमण गर्ने दर बढिरहेको छ । वन्यजन्तुको आक्रमण बढेपछि उनीहरुको विचरणका बारेमा अनुसन्धानका लागि वनजंगल आसपासका क्षेत्रमा बाघ तगा आहार प्रजातिका वन्यजन्तुको अनुगमन मंगलबारदेखि सुरु गरिएको छ ।

डिभिजन वन कार्यालय बाँकेको आयोजना तथा बाँके राष्ट्रिय निकुञ्जको सहजीकरण र जेडएसएलको प्राविधिक सहयोगमा राप्तिसोनारी गाउँपालिका–३ बैसामा कम्दी जैविक मार्गमा पुगेर मंगलबार वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशका सचिव मोहनराज काफले उद्घाटन गरे ।

सिनियर वन डिभिजनल अधिकृत शंकरप्रसाद गुप्ताका अनुसार अनुगमनमा विशेष गरी त्यो ठाउँमा बाघको संख्या कति छ? बाघको घनत्व कति छ? भन्ने कुरा पत्ता लगाउने एउटा अध्ययन हो । यसमा बाघ मात्र नभई आहारा प्रजाति पनि के कति छन? भन्ने विषयमा पनि अध्ययन गरिन्छ ।

क्यामेरा ट्रयापिङ विधिबाट बाघ ओहोरदोहोर गर्ने बाटोमा स्वचालित क्यामेरा राखेर तस्बिर संकलन गरिन्छ । यसका लागि निश्चित ग्रिड बनाएर त्यसभित्र पनि बढी आउजाउ गर्ने स्थान पत्ता लगाएर क्यामेरा राखिन्छ ।

जेडएसएलका कार्यक्रम अधिकृत संजय कँडेलका अनुसार क्यामेरा ट्रयापिङले त्यो क्षेत्रमा बाघले विचरण गरेको छ वा छैन भन्ने कुरा पत्ता लाग्छ । विशेष गरेर जैविक मार्ग भनेको आफैंमा वन्यजन्तु राख्नेभन्दा पनि वरपरका वन्यजन्तुलाई आवतजावत गराउन सक्षम छन् कि छैनन् भन्ने विषय महत्त्वपूर्ण हुने भएकाले ती बाघ तथा अन्य वन्यजन्तुहरू कताबाट विचरण गरेका छन् भन्ने देखाउँछ ।

‘आहारा प्रजातिको अध्ययनले भोलिका दिनमा त्यो क्षेत्रमा कत्तिको बाघहरू ओहोरदोहोर गर्न सक्छन् भन्ने जानकारी दिन्छ,’ उनले भने , ‘बाघहरू बस्दा पनि उनीहरूलाई आहारा चाहिन्छ । बाघको संख्या निर्धारण गर्ने एउटा प्रमुख तत्व आहारा प्रजाति भएको हुनाले अनुगमनमा पनि आहारा समावेश गरिएको हो ।’

अहिले बाघ तथा आहारा प्रजातिको अनुगमनमा कम्दी करिडोर र आसपासको करिब ३५ हजार हेक्टर क्षेत्रफलमा ९५ वटा ग्रेडमा स्वचालित क्यामेराहरू जडान गरिएका छन् । जडान गरिएको मितिदेखि १५ दिनसम्म क्यामरा राखिन्छ ।

प्रतिक्रिया