Listen LIVE

सुरक्षा परियोजनाको अन्तिम समीक्षा बैठक सम्पन्न

बर्दिया : बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दिया जिल्लाको राजापुर र मधुवन नगरपालिकामा सञ्चालित सुरक्षा परियोजना अन्तर्गत अन्तिम परियोजना समीक्षा, प्रतिबिम्ब तथा हस्तान्तरण बैठकहरू सम्पन्न गरेको छ ।

उक्त बैठकहरूमा स्थानीय सरकारका जनप्रतिनिधि, निर्वाचित पदाधिकारी, सम्बन्धित सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, सामुदायिक सरोकारवाला, परियोजनाका लाभग्राही, प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । 

बैठकहरूमा परियोजनाका उपलब्धिहरूको समीक्षा, समुदायस्तरमा देखिएका सकारात्मक परिवर्तनहरूको आदानप्रदान तथा परियोजना अवधि समाप्तिपश्चात् प्राप्त उपलब्धिहरूको दिगोपना सुनिश्चित गर्ने उपायहरूबारे छलफल गरिएको थियो ।

राजापुर नगरपालिकामा आयोजित बैठक नगर प्रमुख दीपेश थारूको अध्यक्षतामा सम्पन्न भएको थियो भने महिला तथा बालबालिका इकाइ प्रमुख अनिता चौधरीले सहजीकरण गर्नुभएको थियो । परियोजना समीक्षा तथा हस्तान्तरण प्रक्रियाको उद्देश्य र महत्वबारे प्लान इन्टरनेशनल नेपालकी कार्यक्रम विशेषज्ञ दुर्गा क्षेत्रीले प्रकाश पार्नुभएको थियो ।

दुबै बैठकमा बाँके युनेस्को क्लबका परियोजना संयोजक ईश्वर बीकेले परियोजनाको समग्र प्रगति, नतिजाअनुसारका उपलब्धि, प्रमुख क्रियाकलाप, असल अभ्यास, मुख्य सिकाइ, कार्यान्वयनका क्रममा देखिएका चुनौती तथा दिगोपनाका लागि आवश्यक सुझावहरू प्रस्तुत गरेका थिए ।

औपचारिक परियोजना हस्तान्तरण प्रक्रियाअन्तर्गत बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि कुमार तुलाधरले संस्थाको तर्फबाट परियोजनाको अन्तिम प्रगति प्रतिवेदन राजापुर नगरपालिकालाई हस्तान्तरण गरेका थिए । उक्त प्रतिवेदनमा परियोजनाका उपलब्धि, सिकाइ तथा आगामी दिनमा कार्यक्रमहरूको निरन्तरताका लागि आवश्यक सुझावहरू समेटिएका छन् ।

राजापुर नगरपालिकाका नगर प्रमुख दीपेश थारूले सुरक्षा परियोजना कार्यान्वयनमा प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबले पु¥याएको योगदान तथा प्रयासको प्रशंसा गरे । उनले समुदायमा सचेतना अभिवृद्धि, स्थानीय संयन्त्रहरूको सुदृढीकरण तथा मानव बेचबिखन र बाल संरक्षणसम्बन्धी जोखिमविरुद्ध सामूहिक पहल विकास गर्न परियोजनाले खेलेको भूमिकालाई महत्त्वपूर्ण बताए ।

यसैगरी, मधुवन नगरपालिकामा आयोजित अन्तिम परियोजना समीक्षा, प्रतिबिम्ब तथा हस्तान्तरण बैठक नगर प्रमुख तेजबहादुर भाटको अध्यक्षतामा सम्पन्न भएको थियो । सम्बन्धित नगरपालिका शाखाको प्रतिनिधित्व गर्दै शोभा शर्माले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

बैठकमा वडा अध्यक्षहरू, नगरपालिकाका सम्बन्धित शाखा प्रमुखहरू, नेपाल प्रहरीका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापकहरू, युवा प्रतिनिधि, वडा सदस्यहरू, सामुदायिक सरोकारवाला, परियोजनाका लाभग्राही तथा प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले संस्थाको तर्फबाट मधुवन नगरपालिकालाई परियोजनाको अन्तिम प्रगति प्रतिवेदन औपचारिक रूपमा हस्तान्तरण गरे । 

बाँके युनेस्को क्लबका सहअध्यक्ष निरज गौतमले परियोजना कार्यान्वयन अवधिभर प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र स्थानीय सरकारबीच भएको सहकार्य तथा साझेदारीको प्रशंसा गरे । 

मधुवन नगरपालिकाका नगर प्रमुख तेजबहादुर भाटले प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबले पु¥याएको योगदानको प्रशंसा गर्दै सुरक्षा परियोजनाले नगरपालिकामा ल्याएका सकारात्मक परिवर्तनहरूलाई महत्वपूर्ण रूपमा लिए । 

उक्त बैठकहरूमा बाँके युनेस्को क्लबका उपाध्यक्ष पंचम गुरुङ, कार्यकारी निर्देशक रवि कुमार तुलाधर, अध्यक्ष प्रवेज अलि सिद्दिकी, सहअध्यक्ष निरज गौतम तथा परियोजना टोलीका सदस्यहरूसबित्रा भाट र प्रमिशा थारूलगायत प्लान इन्टरनेशनल नेपालका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया