Listen LIVE

खाद्य संस्थान बाजुराबाट सहुलियत मूल्यमा चिनी वितरण सुरु

बाजुरा : खाद्य संस्थान बाजुराबाट सहुलियत मूल्यमा चिनी बिक्री वितरण सुरु भएको छ । सदरमुकाम मार्तडीमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा र डिपो कार्यालय कोल्टीबाट चिनी बिक्री वितरण सुरु भएको हो ।

नागरिकलाई सहुलियत मूल्यमा चिनी उपलब्ध गराउने उद्देश्यका साथ मार्तडी र कोल्टीबाट एकसाथ बिक्री वितरण सुरु गरिएको खाद्य संस्थान शाखा कार्यालय मार्तडीका प्रमुख उमेश भण्डारीले बताए । प्रमुख भण्डारीका अनुसार मार्तडी शाखा र कोल्टीमा गरि ४० क्विन्टल चिनी पुगेर बिक्री वितरण कार्य सुरु भइसकेको छ ।

हाल मार्तडी बजारमा चिनी प्रति केजी १ सय २० रहेकोमा मार्तडी खाद्य कार्यालयबाट सहुलियत १ सय १५ रुपैयाँ र  कोल्टी बजारमा चिनीमा प्रति केजी १ सय २३ कायम रहेकोमा कोल्टी खाद्य डिपोबाट १ सय १८ रुपैयाँ सहुलियत मूल्यमा बिक्री वितरण हुने गरेको छ ।

बजारमा चिनीको मूल्य आकासिएका बेला खाद्य संस्थानबाट सहुलियत मूल्यमा चिनी बिक्री वितरण भएपछि स्थानीय नागरिक खुशी भएका छन् ।

प्रतिक्रिया