नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका ८ स्थित शम्शेरगञ्जको ओभरी जंगलमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बुधबार अपरान्ह सवा ४ बजे ओभरीकै स्थानीय ६७ वर्षीया महिला सेती बुढाको पाटेबाघको आक्रमणबाट मृत्यु भएको सशस्त्र प्रहरी बल नम्बर ४२ रिजर्भ गण शम्शेरगञ्जले जानकारी दिएको छ ।
सशस्त्र प्रहरी रिजर्भ गणका अनुसार बुढालाई बाघले भगवती सामुदायिक वनमा सुख्खा दाउरा लिन गएका बेला आक्रमण गर्दा मृत्यु भएको थियो । सामुदायिक वनमा साथीहरुसँग दाउरा लिन गएका बेला अलि टाढा दाउरा खोज्ने क्रममा बाघले आक्रमण गर्दा बुढाको घटनास्थलमै मृत्यु भएको थियो । बुढा घरमा अबेरसम्म नगएपछि स्थानीयहरुले खोजी गर्दा उनकै छोरीले आमालाई मृत अवस्थामा फेला पारेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
लगत्तै बुढाकी छोरीले प्रहरीलाई खबर गरेपछि सशस्त्र प्रहरीसहित गएको प्रहरीले उनको शव जंगलबाट ल्याएको हो । सशस्त्र प्रहरीका अनुसार बाघले बुढाको दाहिने खुट्टा खाएको अवस्थामा शव भेटिएको थियो । यता सशस्त्र प्रहरीले राष्ट्रिय निकुञ्जभित्र र सामुदायिक वनमा एक्लै नहिँड्न सम्बन्धित सबै स्थानीयलाई आग्रह गरेको जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार