नेपालगञ्ज : हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा ‘बहसमा कामरेड जलजला र मोहनविक्रम सिंह’ कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा उपन्यासका लेखक तथा वरिष्ठ राजनीतिककर्मी मोहनविक्रम सिंहले जलजला उपन्यासका साहित्यिक, राजनीतिक र दार्शनिक पक्षका साथै आफ्नो राजनीतिक जीवन, नेपालको समसामयिक राजनीति र विश्व राजनीतिक सन्दर्भका बारेमा विस्तृतरूपमा जानकारी गराएका थिए । सिंहले उपन्यासका पात्र र घटना प्युठानको मात्रै होइन विश्व सन्दर्भलाईसमेत समेट्ने किसिमका रहेको बताए । कामरेड जलजला दुःख–सुखान्तक उपन्यास भएको भन्दै आफूले प्रेमको अवमूल्यन नगरेको बरु सतीदेवी पार्वतीमा पुनर्जन्म भए झैँ जलजला सुनन्दाका रूपमा आएको उनले बताए ।
आफ्नो राजनीतिक जीवनका भोगाइ र आफूले बुझेको विश्व समाजलाई कामरेड जलजलामा प्रस्तुत गरेको सिंहको भनाइ थियो । कार्यक्रमका सहभागीले खुला सत्रमा जिज्ञासा राखेका थिए । जिज्ञासाको उत्तर दिँदै उनले राजा महेन्द्रबाट आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आएको भन्ने भनाइ सत्य नभई किंवदन्ती मात्रै भएको भन्दै आफूले तत्कालीन कम्युनिस्ट नेता पुष्पलाललाई गद्दार भन्नु गलत थियो भन्दै पहिले नै प्रस्ट पारेको बताए ।
टिप्पणीकार नरेन्द्रजङ्ग पिटरले पुस्तक सम्पादनमा केही त्रुटि रहेको भन्दै साहित्य, राजनीति र दर्शनको विश्वकै विशाल ग्रन्थमध्ये जलजला एक बनेको बताए । बहसको सहजीकरण साहित्यकार सागर गैरेले गरेका थिए । कार्यक्रममा पूर्वउपसभामुख पूर्णा सुवेदी, पूर्वप्रदेश सभा सदस्य आइपी खरेल, नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्यसचिव प्राज्ञ सनत रेग्मी, प्राडा जनार्दन आचार्यलगायतको सहभागिता थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार