Listen LIVE

कोहलपुरमा संविधानको झल्को दिने गरी रचना वाचन

कोहलपुर (बाँके) : हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको रचना वाचन विभागले संविधानको महत्व झल्कने गरि तयार पारिएका कविता, गीत र गजलहरु समावेश रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । 

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा कोहलपुर चौराहामा बिहीबार साँझ दीप प्रज्वलनसहित रचना वाचन कार्यक्रम सम्पन्न गरिएको हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष पुष्कर रिजालले बताए । 

उनले सो अवसरमा चौराहामा दीप प्रज्वलन गरेर संविधानको महत्त्व र आवश्यकतालाई उजागर गर्ने रचना विभिन्न साहित्यकारले सुनाएको बताए । 

कार्यक्रमका साहित्यकार केशव निमेष, प्रकाश मरासिनी, शान्ति अधिकारी, नमिता बराल,  प्रकाश क्षितिज, भूपेन्द्र सुवेदी, विपिन सिङ, कृष्ण शाही, चन्द्रावती अधिकारीलगायतले रचना वाचन गरेका थिए भने साहित्यकार सागर गैरे, दामोदर पौडेल, चेतकान्त भट्टराई, सालिकराम लम्साल, कर्णबहादुर थापा, सनत सापकोटालगायतको उपस्थिति थियो । 

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य महानन्द ढकालले बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त नेपालको संविधान २०७२ ले मौलिक हकको सुनिश्चित गर्दै स्थानीय तहसम्म भाषा, साहित्य, कला र सङ्गीतको संरक्षण र  संवर्द्धनका लागि ठुलो अवसर दिएको बताए । 

वरिष्ठ साहित्यकार उपप्रध्यापक डा. विष्णु केसीले यो संविधानले नेपालमा बसोबास गर्ने सबैको भाषा, संस्कृति र कलाको संरक्षण गरिरहेको जनाउँदै संविधान जनतामा समर्पित रहेको बताए ।

प्रतिक्रिया