Listen LIVE

कल्भर्ट नहुँदा जोखिम मोलेर स्कुल जान्छन् बारबर्दियाका विद्यार्थी

बर्दिया : बारबर्दियाका बालबालिका बर्खाका बेला जोखिम मोलेर विद्यालय जान बाध्य भएका छन् । बारबर्दिया नगरपालिका–११ विजयनगरस्थित नमस्कार टोलदेखि मिलन टोल जाने बाटोमा रहेको बिक्री गन्ज्री कुलोमा कल्भट नहुँदा उनीहरु समस्यामा परेका हुन् ।

लामो समयदेखि देखिएको यो समसम्यामा सम्बन्धित निकायको ध्यान गएको छैन । शुक्रबार बिहानको वर्षाले कुलोमा पानीको बहाव बढेर बाटोमा ठूलो पानी बगेको थियो । विद्यालय हिँडेका विद्यार्थीलाई अभिभावकले तार्दै गरेको दृश्य सामाजिक सञ्जालमा समेत छाएको थियो ।

उक्त बाटो भएर २० बढी विद्यार्थी बारबर्दिया–११ स्थित सिम्हा मावि बेलभारमा जाने गरेका प्रधानाध्यापक राम प्रसाद थारुले बताए । २५ जना बढी विद्यार्थी विजय प्राविमा जान्छन् ।

शुक्रबार बिहान बाटोमा बगेको ठूलो पानीमा अभिभावकले विद्यार्थीलाई तार्दै गरेको भिडियो पोष्ट गरेको विजय प्रावि व्यवस्थापन समितिका अध्यक्ष राम किशोर थारुले बताए । ‘बर्खाको बेला कुलो बढ्दा विद्यार्थीलाई विद्यालय आउन गाह्रो हुन्छ,’ अध्यक्ष थारुले भने, ‘यो समस्या लामो समय देखि छ, यदि दुई घण्टा पानी प¥यो भने कुलोको बहाव बढेर ठूलो पानी बगिहाल्छ ।’

उक्त कुलोमा दुई वटा ह्युम पाइप बिछ्याइएको बारबर्दिया–११ का वडाध्यक्ष विजयकुमार चौधरीले बताए । ‘कुलोबाट पानी ओभरफ्लो भएर बाटोमा आएको हो,’ उनले भने, ’कल्भट निर्माणका लागि प्रदेश सरकारलाई प्रतिवेदन बुझाएका छौं ।’

कल्भर्ट निर्माणका लागि पहल गर्दैगर्दा यस वर्ष सम्भव नभएको बारबर्दिया नगर प्रमुख छविलाल थारु बताउँछन् ।

प्रतिक्रिया