दाङ : नेपाल–भारतको ऐतिहासिक सम्बन्धलाई पुनः सुदृढ गर्दै आर्थिक र सांस्कृतिक सहकार्यलाई अघि बढाउन कोइलाबास नाकालाई पुनः सक्रिय बनाउनुपर्ने आवश्यकता प्रष्ट देखिएको छ ।
भारतको तुलसीपुरमा नेपाल भारतका व्यवसायिक नेतृत्वको दुइपक्षिय छलफलले दुई देशबिचको व्यापारिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन कोइलाबासको महत्वलाई केन्द्रबिन्दुमा राखेको छ । देउखुरी उद्योग वाणिज्य संघ, लमही र भारतको बलरामपुर उद्योग व्यापार मण्डलका प्रतिनिधिहरूबिच भएको बैठकमा कोइलाबास नाका सञ्चालनको विषयमा गम्भीर छलफल भयो ।
नेपाली पक्षबाट देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष कमल जंग सिंह ठकुरीले कोइलाबास नाकाको पुनर्जीवनले दुवै देशलाई आर्थिक लाभ दिलाउने बताए । ठकुरीले भने, “कोइलाबास नाका चलाएमा नेपालको लमही व्यापारिक केन्द्रबिन्दु बन्न सक्छ, यसले भारतीय पर्यटक र व्यापारीहरूलाई सहज प्रवेशको अवसर दिन्छ ।“
बैठकमा भारतको बलरामपुर उद्योग व्यापार मण्डलका महासचिव दिलिप कुमार गुप्ताले भन्सार प्रक्रियालाई डिजिटल बनाउने, सीमा व्यापारलाई सहजीकरण गर्ने, र धार्मिक पर्यटकीय मार्गहरूलाई प्रोत्साहन गर्ने प्रतिवद्धता जनाए । उनले भने, “नेपाल–भारतबीचको परम्परागत सम्बन्धलाई व्यापारिक सहकार्यमार्फत सुदृढ गर्न भारतले निरन्तर प्रयास गर्नेछ ।“
बैठकमा दुवै पक्षले कोइलाबास नाकाको पुनःउत्थानका लागि प्रभावकारी योजना बनाउनुपर्नेमा जोड दिइएको छ । देउखुरी उद्योग बाणिज्य संघका कोषाध्यक्ष हरिथापाले २०५१–५२ सालदेखि ठप्पजस्तै रहेको कोइलाबास नाका अहिले पनि नेपाली र भारतीय दुवै पक्षका लागि आर्थिक फाइदाको माध्यम बन्ने बताए ।
दुई देशको साझा प्रयास आवश्यकनेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउन कोइलाबास नाका मात्र व्यापारिक मार्ग होइन, यो दुई देशको सांस्कृतिक र धार्मिक सम्पर्कको प्रतीकसमेत हो । यस्तो महत्वपूर्ण स्थानलाई पुनः सक्रिय बनाउन दुवै देशका सरकार र निजी क्षेत्रले साझा प्रयास गर्नुपर्नेमा जोड दिएको छ । कोइलाबासले व्यापार मात्र नभइ आपसी भाइचाराको सन्देश पनि प्रवाह गर्ने भएकाले नाका पुनः सञ्चालनका लागि सबै पक्षले सहकार्य गर्नुपर्ने सहभागिको जोड थियो ।
देउखुरी उद्योग वाणिज्यसंघले सातौँ देउखुरी कृषि पर्यटन तथा व्यापारिक महोत्सवको आयोजना गर्न थालेको जानकारी दिँदै भारतीय व्यापारी मण्डललाई औपचारिक निमन्त्रणा समेत दिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार