यदुराज मिश्र/नेपालगञ्ज : बाँकेलगायत तराई मधेशका जिल्लाहरुमा मंगलबार खिचडी पर्व मनाइने भएकोले यसको यत्रतत्र रौनक छाएको छ । मकर संक्रान्तिका दिनदेखि मै रात छोटो र दिन लामो हुँदै जाने विश्वास रहेको छ ।
यस पर्वलाई माघे सङ्क्रान्ति, मकर सङ्क्रान्तिका नामले चिनिन्छ । माघको पहिलो दिन अर्थात् १ गते मधेसी समुदायमा मनाइने मकर सङ्क्रान्तिको विधि र प्रक्रिया फरक भए पनि उद्देश्य र मान्यता साझा नै रहेको विद्वानहरुको भनाई छ । मधेशी समुदाय, थारू समुदाय, बातर समुदायसहित अन्य समुदायमा सङ्क्रान्तिलाई पर्व एवम् उत्सवको रुपमा मनाइने गरिएको नेपालगञ्जवासी पं. शिवप्रसाद पाठकले जानकारी दिए ।
यस पर्वमा खिचडीको विशेष महत्व रहेको उनले बताए । धार्मिक मान्यता अनुसार यस दिन भगवानलाई खिचडीको भोग लगाउने चलन रहेको उनले जानकारी दिए ।
खिचडी पर्व भनिने यस दिन चामल, खिचडीका सामग्रीहरू जस्तै मासको दाल, नुन, तरकारी, घिउ लगायतका सिदा दान गर्ने प्रचलन रहिआएको छ । यसै दिनदेखि माघस्नान सुरू गरेर माघ महिनाभर एकाबिहानै नुहाएर श्रद्धासाथ घिउखिचडी खाने चलन छ ।
शिशिर ऋतुमा पर्ने यो सङ्क्रान्तिमा शरीर शुद्ध गरी घिउ, खिचडी खानाले शरीरमा गर्मीका मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ भने माघीको दिन स्नान गरी तिलको आगो ताप्नाले वर्षभरिको पापबाट मुक्ति पाउने विश्वास रहेको पं. शंकर दयाल मिश्रले बताए ।
माघ १ गतेलाई नेपाल सरकारले २०६४ सालदेखि राष्ट्रिय पर्व घोषणा गरी सार्वजनिक बिदा दिँदै आएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार