Listen LIVE

कालीकोटको जिते बजार खण्डहर

कालीकोट : बाढी र पहिरोको उच्च जोखिममा रहेको जिते बजार खाली भएको छ। बजारको सिरानीमा कर्णाली राजमार्ग र तल तिला नदीले उच्च जोखिमा रहेको कालीकोटको खाडाँचक्र नगरपालिका वडा नम्बर २ स्थित जिते बजार पछिल्लो समयमा खाली भएको छ। यहाँ बसोबास गर्दै आएका व्यापारीले जिते बजार छोडेपछि बजार खाली भएको हो।

२०६३ सालदेखि कालीकोटका तत्कालीन १७ गाउँविकास समिति, बाजुरा, मुगु र हुम्ला जिल्लाका नागरिकलाई लक्षित गरेर स्थापना भएको जित बजार बाढी र पहिरोको उच्च जोखिममा थियो। पटकपटक जिल्ला प्रशासन कार्यालयले उक्त स्थान छाड्न पत्राचार गर्दा समेत जितेबाट अन्यत्र जान नमानेका व्यापारी अहिले भने आफै तितरबितर भएका छन्। 

जिते बजारमा लामो समय व्यापार गर्दै आउनुभएका महिन्द्रा कठायतले खुलालमा पक्की पुल बनेसँगै दैनिक उपभोग्य समान सिधै ढुवानी हुन थालेपछि जिते बजार खाली भएको बताए। झोलुङ्गे पुलबाटै दैनिक उपभोग्य वस्तु ओसारपसार हुँदा बजारको सान छुट्टै थियो। 

कालीकोटका कर्णाली पारीका १७ गाउँविकास समिति र बाजुराको पूर्र्वी क्षेत्र, मुगुको तल्लो भाग र हुम्लाका केही नागरिकलाई चाहिने दैनिक उपभोग्य वस्तु जितेबाट ढुवानी हुने गरेको थियो। 

व्यापार राम्रो हुँदा त्यो समयमा जोखिम भए पनि व्यापारीले जिते छोड्न मानेन, प्रशासनको उर्दीलाई समेत अटेर गरेका व्यापारी अहिले भने आफै ठाउँ खाली गर्दा बजार खण्डहर बनेको हो।

कालीकोट उद्योग वाणिज्य संघका अध्यक्ष रतनबहादुर शाहीले ज्यानको जोखिम भएकाले धेरै पटक प्रशासनले व्यापारीलाई सुरक्षित स्थानमा सार्ने पहल गरेको तर अहिले आफै ठाउँ छोडेर गएको बताए।

प्रतिक्रिया