Listen LIVE

बर्दिया अस्पतालमा विरामीको चाप बढ्यो

बर्दिया : गर्मीयाम सुरु भएपछि बर्दिया अस्पताल बिरामीले खचाखच भरिँदै गएको छ । ५० शय्याको बर्दिया अस्पताल बिरामीले भरिएको हो । 

इमरजेन्सी सेवामा उपचारका लागि आएका बिरामी बेडको अभावमा बाहिर उपचार गराउन बाध्य भएका छन् ।

बर्दियामा असार महिनायता स्क्रब टाइफस संक्रमण नवजात शिशुमा फैलिँदै गएको छ । श्वास प्रश्वास, झाडा पखाला, रक्त अल्पता, ज्वरो लगायतका बिरामीले भरिएका छन् । अस्पतालमा यसबाहेक ज्वरो, पेट, टाउको दुःख्ने, मधुमेह, रक्तचाप लगायतका बिरामी जिल्ला अस्पताल गुलरियामा आउनेको संख्या दिनहुँ बढ्दै गएको छ ।

सडक दुर्घटना लगायत गम्भीर खाले थप इमरजेन्सीका बिरामीलाई बेडको व्यवस्था गरी उपचार गर्न थालिएको छ ।

अस्पतालका बाल विशेषज्ञ डाक्टर विश्वनाथप्रसाद साहले गर्मी र वर्षायाम सुरु भएपछि स्क्रब टाइफस, ज्वरो, टाउको दुःख्ने, झाडापखाला लगायतका बिरामीको संख्या बढ्दै गएको बताए । जनशक्ति र भौतिक सुविधाको कमीका बाबजुत उपचारमा कुनै कमी नभएको बताए ।

नवजात शिशु, बालबालिकादेखि वृद्धसम्म स्क्रब टाइफसका बिरामीको संख्या बढेको अस्पतालले जनाएको छ । जिल्ला अस्पतालमा दैनिक उपचारका लागि बहिरंग सेवामा लागि आउनेको संख्या २ सय ५० जनाभन्दा बढी रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया