Listen LIVE

संविधान दिवसमा ‘सांसदसँग विद्यार्थी’ कार्यक्रम

नेपालगञ्ज : बाँकेको एक विद्यालयले सांसदसँग विद्यार्थी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । बैजनाथ गाउँपालिका –५ स्थित प्रभात नमुना माध्यमिक विद्यालयले बिहीबार सांसदसँग विद्यार्थी कार्यक्रम गरेको हो । 

नवौँ संविधान दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा सांसद र विद्यार्थीबिच अन्तरक्रिया गरिएको छ । ‘नेपालको संविधान २०७२ मा शिक्षासम्बन्धी व्यवस्था र कार्यान्वयनको अवस्था’ विषयमा विद्यालयमा अध्ययनरत विद्यार्थीले बाँके निर्वाचन क्षेत्र नम्बर ३ (१) बाट लुम्बिनी प्रदेशसभा सदस्य रहनुभएका सांसद रत्न खत्रीसँग अन्तरक्रिया गरिएको हो ।

विद्यार्थीले सामुदायिक विद्यालय र निजी विद्यालयका बिचमा देखिएका असन्तुलनका बारेमा, शिक्षामा देखिएका गुणस्तरका बारेमा, सामुदायिक विद्यालयमा अङ्ग्रेजी भाषा कमजोर हुने गरेको बारेमा तथा अन्य क्षेत्रमा काम गर्दा योग्यता लागु हुने गरेको तथा राजनीति क्षेत्रमा सांसद र मन्त्री हुनलाई किन योग्यता लागु नहुन सकेको लगायतका विषयमा सांसद खत्रीलाई जिज्ञासा गरेका थिए ।

पूर्व सामाजिक विकास मन्त्रीसमेत रहेका सांसद खत्रीले विद्यार्थीले राखेका जिज्ञासाको जवाफ दिएका थिए । उनले सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्नलाई यस प्रकारका कार्यक्रम महत्त्वपूर्ण हुने बताए । कार्यक्रमले विद्यार्थीले धेरै विषयमा ज्ञान हासिल गर्न सक्ने र युवा पिँढीको राजनीतिप्रतिको धारणा सकारात्मक बन्ने बताए ।

उनले इतिहासमै पहिलो पटक जनताका प्रतिनिधिले आफ्नो विवेक प्रयोग गरेर संविधान लेखेको कुरा आफैँमा ठुलो उपलब्धि भएको बताए । संविधानले जनताका मौलिक हकका कुरालाई उत्कृष्ट ढङ्गबाट उठाउँदै गर्दा नागरिकको कर्तव्यबोध गराएको बताए ।

विद्यालयमा कक्षा १० र १२ मा अध्ययनरत करिब दुई सयभन्दा बढी विद्यार्थी कार्यक्रममा सहभागिता रहेको थियो । दुई दर्जन बढी विद्यार्थीले संविधानको व्यवस्था तथा अवस्थाका बारेमा सांसद खत्रीसमक्ष आफ्ना जिज्ञासा राखेका थिए ।

प्रतिक्रिया