नेपालगञ्ज : मुस्लिम समुदायमा दाइजो प्रथा र बालविवाह अन्त्य गर्न धर्मगुरुहरू सक्रिय अभियानमा उत्रिने भएका छन् । नेपालगञ्जमा उलेमा काउन्सिल नेपालले आयोजना गरेको जिल्ला अधिवेशन तथा दाइजो उन्मूलन कार्यक्रममा धर्मगुरुहरूले दाइजोविरुद्ध सशक्त अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
कार्यक्रममा पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले दाइजोका कारण छोरी पढ्न नपाउने, हिंसाको सिकार हुने र विवाह नै टारिनुपर्ने अवस्था सिर्जना भएको भन्दै धर्मगुरुले सञ्चालन गर्ने अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
उलेमा काउन्सिल नेपालका उपाध्यक्ष मुफ्ति कैफुलवरा खानले दाइजोका कारण उत्पन्न समस्या र छोरीको शिक्षामा देखिएको अवरोधलाई ध्यानमा राख्दै छोरी पढाउने र विवाहमा सहयोग गर्ने अभियान सुरु गर्ने जानकारी दिए । उनले दाइजो प्रथा बढे बालविवाह पनि बढ्ने भएकाले दुवै अन्त्यका लागि धर्मगुरुहरू दृढरूपमा लाग्ने बताए ।
लुम्बिनी प्रदेशका प्रतिनिधि कारी कमरुद्दीनले महिला हिंसाको शुरुवात दाइजो प्रथाबाट हुने र कम दाइजो लाग्ने विश्वासका कारण बालविवाह बढ्ने उल्लेख गर्दै यसलाई अन्त्य गर्न धार्मिक नेतृत्व निर्णायकरूपमा अघि बढ्ने जानकारी दिए ।
अधिवेशनले मौलाना नसीरुद्दीन अंसारीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । कार्यक्रममा नेपालगञ्जका उपमेयर कमरुद्दीन राई, प्रहरी उपरीक्षक रामप्रसाद घर्तिमगर, मुस्लिम इत्तेहाद संगठनका अध्यक्ष मोहम्मद हारुन हल्वाइसहित बाँके, बर्दियाका धर्मगुरु र सामाजिक अभियन्ताहरूको सहभागिता थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार