नेपालगञ्ज : गत ६ महिना यता बाँके जिल्लामा भएका हत्याका दुईवटा घटनामा संलग्नलाई प्रहरीले पक्राउ गर्न नसक्दा पीडित परिवारले आफूहरू थप पीडित बनेको गुनासो गरेका छन्।
गत वर्ष चैत १७ गते राति नेपालगञ्ज–२१ बिर्ताका २२ वर्षीय अरबी खाँको घर नजिकै गहुँबारीमा घाँटी रेटेर बीभत्स ढङ्गले हत्या भएको थियो। तर सो घटना भएको पाँच महिना बिते पनि प्रहरीले हत्यारा पक्राउ गर्न सकेको छैन।
हत्यारा पक्राउ गर्न प्रहरीले तदारुकता नदेखाएको पीडित परिवारको गुनासो छ। पाँच महिनादेखि जिल्ला प्रहरी कार्यालय धाएर अपराधीलाई पक्राउ आग्रह गर्दै आए पनि हत्यारा पक्राउ नगरिएको मृतक खाँकी आमा राबिया खाँले बताइन्।
मृतक खाँका पिता करम खाँले घटनास्थलमा रगतले लतपतिएको एउटा सर्ट फेला परेपनि सो सर्ट भएका व्यक्तिलाई प्रहरी पक्राउ गरेर छाडिदिएको गुनासो गरे।
अरबी खाँको हत्या भएको ठाउँमा रगतले लतपतिएको एउटा सर्ट फेला परेको थियो। त्यस आधारमा स्थानीय र आफन्तले प्रहरीलाई सूचना दिँदा प्रहरीले संदिग्धलाई नियन्त्रणमा लिए पनि छानबिन नै नगरी छाडिदिएको खाँका आफन्तको आरोप छ।
खाँका आफन्त अब्दुर्रहमान खाँले भने, ‘हत्यारा पत्ता नलागेकोले घट्नाको पाँच महिना बिते पनि अहिलेसम्म खाँको परिवारमा दैनिकजसो रुवाबासी छ। न त कसैले राम्रोसँग खाना खान्छन् न त कोही काममा नै जान्छन्। अत्यन्त दुखद अवस्था छ।’
सोही प्रकारले गत असार २८ गते साँझ नेपालगञ्ज–११ सदरलाइनमा ठेलामा व्यापार गरेर गुजारा गर्दै आएका ३८ वर्षीय इरसाद राईको धारिलो हतियार प्रहार गरेर हत्या भएको थियो। स्कुटरमा आएका व्यक्तिले धारिलो हतियार प्रयोग गरेर उनको हत्या गरेर फरार भएका थिए। तर, अहिलेसम्म मुख्य हत्यारालाई प्रहरीले पक्राउ गर्न सकेको छैन।
घरका मुखिया राईको हत्या भएसँगै उनकी पत्नी मुन्नी राईमाथि ठुलो सङ्कट आइलागेको छ। पाँच सन्तानकी आमा मुन्नीले हत्यारा पक्राउ गर्न आन्दोलन समेत गरिएको स्मरण गर्दै पटक–पटक आग्रह गर्दा पनि अझै हत्यारा पक्राउ नपर्दा पीडा झन् थपिएको बताइन्।
उता, प्रहरीले भने दुवै घटनाका हत्यारा पत्ता लगाउन कुनै पनि कसर बाँकी नराखेर काम गरिरहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले अरबी खाँको घटनामा सिआईबीले एक महिना नेपालगन्जमै बसेर अनुसन्धान गरेको बताए।
उनले सो घटनाको सिआइबीले अनुसन्धान प्रतिवेदन पनि बुझाएको जनाउँदै पीडित परिवारको भनाइ छ। घटनास्थलको अनुसन्धान र अन्य विभिन्न अनुसन्धानबाट घटनाका संदिग्धको पहिचान भइसकेकोले पक्राउ गर्न मात्र बाँकी रहेकोले उनीहरूको खोजी भइरहेको बताए। भारतमा समेत प्रहरी पठाएर खोजी गरिएको जनाउँदै डिएसपी डाँगीले संदिग्ध पक्राउ परेपछि वास्तविक हत्यारा पत्ता लाग्ने बताए।
राईको हत्याका सम्बन्धमा प्रहरीले धेरै अनुसन्धान गरेर धेरै मिहिनेतपछि झगडामा संलग्नको पहिचान र सनाखत गरिसकेकोले हत्यारा पत्ता लागि सकेको हुँदा उनको खोजी भइरहेको जनाउँदै छिट्टै पक्राउ पर्ने डिएसपी डाँगीले बताए।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार