नेपालगञ्ज : बाँकेको नरैनापुर सँगै राप्तीसोनारी, डुडुवाका विभिन्न गाउँमा दुर्गापूजाको रौनकता छाएको छ ।
एकाबिहानैदेखि अबेर रातसम्म भजन, कीर्तन हुने गरेको छ । घटस्थापनाका दिन दुर्गा भवानीको मूर्ति स्थापना गरेदेखि यहाँका मन्दिर कीर्तनमय भएका छन् ।
दिनभर व्रत बसेका भक्तजनहरू बिहान–बेलुका भजन, कीर्तनमा सहभागी भएपछि यहाँका गल्ली, चोक, चौराह साह्रै रसिलो भएको नरैनापुर ६ का वडा अध्यक्ष प्रेम मौर्यले बताए ।
उनले घटस्थापनाका दिनदेखि रात पनि दिनजस्तै चकमन्न भएको बताउँदै भने, ‘मध्यरातसम्म भजन, कीर्तन हुन्छ । एकाबिहानै फेरि घण्टी, लाउडस्पिकरमा भजन, कीर्तन बज्न सुरु भइहाल्छ ।’
बाँकेमा करिब पाँच सय दुर्गामूर्ति स्थापना
बाँकेका विभिन्न ठाउँ र मन्दिरमा गरी करिब पाँच सयको हाराहारीमा दुर्गामूर्ति स्थापना गरिएको धार्मिक अगुवा नन्दलाल वैश्यले बताए । ‘यहाँ त सडकमै दुर्गामूर्ति स्थापना गरी पूजा–अर्चना हुँदो रहेछ,’ समाजसेवी सूर्य बिष्टले भने, ‘आवत–जावत बन्द हुने गरी मूर्ति स्थापना गर्दा यात्रु र सवारी चालकलाई समस्या भएको छ ।’ सडकमा भन्दा खुल्ला ठाउँमा मूर्ति स्थापना गर्ने रणनीति लिन जरुरी रहेको विष्टको सुझाव थियो ।
बाँके जिल्लाको गल्ली–गल्लीमा स्थापना गरिएका मूर्तिको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको प्रहरी उपरिक्षक तुल बहादुर कार्कीले बताए । दसैँको अवसरमा समुदायमा सकारात्मक सन्देश फैलाउन र रामराज्यको अनुभूति दिलाउन रामलीला महोत्सवलाई निरन्तरता दिएको महोत्सव नन्दलाल वैश्यले बताए ।
घटस्थापनादेखि सुरु हुने रामलीला महोत्सवमा नारद मोह, रामजन्म, ताड्का बध, जनकपुर आगमन, बजार फूलबारी, धनुष यज्ञ, परशुराम, वाणासुर, सीता स्वयंवर, राम वनवास, दशरथ मरण, सीता हरण, लंकादहन, लक्ष्मण शक्ति वाणको लीलालगायत प्रदर्शन हुने गरेको धार्मिक अगुवा एंव राप्रपाका नेता सुशील बर्माले बताए ।
विजयादशमीका दिन ४५ देखि ५० फिटको रावणको पुत्ला दहन गरी महोत्सव समापन हुने गर्दछ । महोत्सव हरेक दिन राति ७ बजेदेखि १२ बजेसम्म सञ्चालन हुँदै आएको पत्रकार विनय पाठकले जानकारी दिए । उनले भने, ‘विजयादशमीका दिन अपराह्नदेखि नै विशेष लीला मञ्चन गरी रावण बध गरिन्छ ।,’
सो दिन जिल्लाका विभिन्न ग्रामीण क्षेत्र तथा छिमेकी मुलुक भारतबाट समेत मानिस आउँछन्। भगवान् राम र सीताको जीवनीमा आधारित विभिन्न कथालाई नाट्य रूपमा प्रस्तुत रामलीला महोत्सवमा गरिन्छ । यो क्रम रावण बध नहुञ्जेलसम्म चल्छ ।
सत्यमाथि विजयको प्रतीकको रूपमा मनाइने दसैँभरि रामलीलाको रौनक हुन्छ । ‘रामले अन्यायका लागि लडेको कथा र प्रजालाई गर्ने व्यवहारबारे प्रस्तुत गरिन्छ ।
पाठकले भने, रामलीलाले युवालाई सकारात्मक सन्देश दिन्छ । रामलीला हाम्रो संस्कृति बनिसक्यो । भगवान् रामको आदर्श र मर्यादाको प्रचारका लागि पुर्खाले सुरुवात गरेका हुन ।,’
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार