नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकास्थित सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा गुल्म र बिओपीहरुवले अवैध ओसारपसारविरुद्ध तथा अवैध गतिविधि नियन्त्रणका लागि नेपाल भारत सीमामा पर्ने नाकामा आवतजावत गर्ने माथि निगरानी बढाएका छन् ।
हाल नरैनापुर गाउँपालिकामा सशस्त्र प्रहरी बलको एउटा प्रस्तावित सीमा सुरक्षा गुल्म, बिओपी कटकुँइया र गंगापुर रहेका छन् । त्यहाँ रहेका सशस्त्र प्रहरी कार्यालयहरुले स–साना नाका भएर आउजाउ गर्ने सबैमाथि कडा निगरानी गर्दै अनिवार्य परिचयपत्र लागु गरेको प्रस्तावित सीमा सुरक्षा गुल्मका डीएसपी गजेन्द्र बहादुर चन्दले बताए ।
सम्भावित घुसपैठ, अवैध तस्करी हुनसक्ने भन्दै नरैनापुर गाउँपालिका–१ स्थित प्रस्तावित सीमा सुरक्षा गुल्म नरैनापुरले घरायसी काम र आफन्तलाई भेटघाट गर्न आउने स्थानीय र सीमावर्ती भारतीय गाउँका नागरिकलाई परिचयपत्र अनिवार्य जाँचपछि उनीहरुको इन्ट्री गरेर मात्र आउजाउ गर्न दिँदै आएको डीएसपी चन्दले जानकारी दिएका छन् ।
नाकामा सुरक्षा सतर्कता बढाउने निर्देशनबमोजिम सुरक्षा कडा पारिएको बताउँदै परिचय खुल्ने कागजात बोकेकालाई मात्रै नेपाल–भारत आउजाउ गर्न दिइएको नरैनापुर–४ स्थित बिओपी गंगापुरका सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले बताए । नेपालीसहित भारतीय नागरिकलाई विशेष सोधपुछ पछि परिचय खुल्ने कागजात हेरेर इंट्री गर्दै गन्तव्यमा पठाउने गरिएको भण्डारीले बताए । उनले भने–“त्यति मात्रै हैन, अवैध ओसारपसारविरुद्ध पनि निगरानी बढाउँदै आएका छौ ।“
सशस्त्र प्रहरी निरीक्षक भण्डारीले भने–“अहिले नेपाल आउने तथा भारत जाने हरेकको परिचय खुल्ने कागजात हेरेर मात्र आउन जान दिएका छौं । परिचयपत्र नभएकाहरुलाई आउजाउ गर्न दिएका छैनौं ।“
यसैगरी, नरैनापुर गाउँपालिका–१ स्थित बिओपी कटकुँइयाको सुइँया नाका भएर आउजाउ गर्नेलाई बिना परिचयपत्र नछोडिएको इन्स्पेक्टर सुशील केसीले जानकारी दिएका छन् । यस भेगमा स्थानीय र सुइँया पारी भारतका स्थानीय आउजाउ गर्ने हुँदा पनि उनीहरुलाई सोधपुछ गर्ने परिचयपत्र हेर्ने र उनीहरुको इन्ट्री गरे पश्चात् वारपार गर्न दिएको केसीले बताए । स्थानीयहरुलाई अनिवार्य परिचयपत्र बोकेर मात्र आउजाउ गर्न सचेतना समेत दिइरहेको इन्स्पेक्टर केसीले भने ।
गलत नियतले कसैको पनि नेपाल प्रवेश नहोस् भन्ने उद्देश्यका साथ दशगजा क्षेत्रमा नरैनापुरमा रहेका सशस्त्र प्रहरी कार्यालयहरुले भारतीय सशस्त्र बल (एसएसबी) सँग संयुक्त गस्ती तथा सशस्त्र प्रहरीले एकल गस्ती गरिरहेको बिओपी गंगापुरका इन्स्पेक्टर भण्डारीले बताए ।
सीमामा हुने हरेक सहि र गलत गतिविधिका बारेमा एसएसबी र सशस्त्र प्रहरीबीच सुरक्षा रणनीतिका बारेमा सूचना आदानप्रदान समेत भइरहेको नरैनापुर गाउँपालिकास्थित सशस्त्र प्रहरी कार्यालयका प्रमुखहरु बताउँछन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार