नेपालगञ्ज : बर्दियाको गुलरिया नगरपालिकामा युवासम्बन्धी अन्तरक्रिया तथा वार्षिक कार्ययोजना तर्जुमा कार्यक्रम सम्पन्न गरिएको छ ।
बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित बालिका शसक्त परियोजना अन्तर्गत सो अन्तरक्रिया तथा वार्षिक कार्ययोजना तर्जुमा कार्यक्रम गरिएको हो ।
बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले कार्यक्रमको प्रमुख उद्देश्य युवालाई सशक्त बनाउने, स्थानीय निर्णय प्रक्रियामा उनीहरूको सार्थक सहभागिता सुनिश्चित गर्ने, हानिकारक सामाजिक प्रथालाई चुनौती दिने तथा स्वस्थ एवं मर्यादित समाज निर्माणमा योगदान पुर्याउनु रहेको बताए ।
कार्यक्रमको समापन गर्दै गुलरिया नगरपालिकाकी उप–प्रमुख सबित्रा गौतमले बालविवाहविरुद्ध निरन्तर वकालत गर्नुपर्नेमा जोड दिँदै युवा तथा किशोर क्लबहरूलाई परिणाममुखी कार्यमा सक्रिय हुन प्रेरित गरिन् ।
उनले प्लान र बाँके युनेस्कोले सञ्चालन गरेको परियोजनाबाट समाजमा ठुलो परिवर्तन देखिएको जनाउँदै यस्ता कार्यक्रम निकै प्रभावकारी बन्दै गएको बताइन् ।
नागरिक समाज सञ्जालका अध्यक्ष रत्न सुनारको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा गुलरिया नगरपालिकाका वडा नं. १, २, ५, ६, ११ र १२ बाट किशोर–किशोरी, युवा, सञ्चारकर्मी, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियोे ।
अन्तरक्रियामा अघिल्ला पहलहरु, उपलब्धि, चुनौती तथा आगामी योजनाबारे बिस्तृत छलफल गरिएको बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि कुमार तुलाधरले बताए ।
उनका अनुसार सो कार्यक्रममा युवामुखी अन्तरक्रियात्मक कार्यक्रमहरूले नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र सामुदायिक सशक्तीकरणलाई प्रवद्र्धन गरी सुरक्षित र समावेशी समाज निर्माणमा कसरी सहयोग पुरयाउन सकिन्छ भन्ने विषयमा विशेष जोड दिइएको थियो ।
कार्यक्रमको सहजीकरण बाँके युनेस्को क्लबका उप–निर्देशक गोविन्द प्रसाद लमिछानेले गरेका थिए भने क्लबका अन्य कर्मचारी र सदस्यहरूले पनि सहयोग गरेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार