Listen LIVE

‘जेएन–जी आन्दोलनपछि प्रभावित भवनको प्रारम्भिक निरीक्षण’

नेपालगञ्ज : जेन–जी आन्दोलनका क्रममा भाद्र २३ र २४ गते भएको आगजनी, तोडफोड र लुटपाटका कारण क्षति पुगेका सरकारी तथा सामुदायिक भवनहरूको स्थलगत प्राविधिक अध्ययन गरिएको छ ।

नेपाल इन्जिनियरिङ एसोसिएसन, सहरी तथा भवन डिभिजन कार्यालय बाँके र प्रदेश सहरी विकास तथा भवन कार्यालय बाँकेको संयुक्त टोलीले प्रभावित अधिकांश भवनको प्रारम्भिक अवस्था परीक्षण गरेर ग्रेडिङसमेत पूरा गरेको जनाएको छ ।

अध्ययन टोलीका अनुसार जिल्ला मालपोत कार्यालय बाँके, आन्तरिक राजस्व कार्यालय र राजस्व अनुसन्धान कार्यालय कोहलपुरलाई गम्भीर क्षति पुगेको देखिएको छ । यी भवनमा रातो स्टिकर टाँसिएको छ । नेपालगन्ज उप–महानगरपालिकाका इन्जिनियर सुरज शर्माले भने, “यी कार्यालयमा कागजात धेरै भएकाले क्षति ठुलो छ, अब रेक्ट्रोफिटिङ गरेर मात्र सञ्चालन गर्न सकिन्छ ।”

यस्तै, जिल्ला प्रशासन कार्यालय बाँकेलाई पहेँलो स्टिकर टाँसिएको छ भने जिल्ला अदालत, उच्च अदालत, कृषि ज्ञान केन्द्र, नापी, सरकारी वकिल कार्यालय, भन्सार लगायतका कार्यालयमा प्रारम्भिक क्षति परीक्षण पूरा भएको टोलीले जनाएको छ । भन्सार, कृषि ज्ञान केन्द्र र सरकारी वकिल कार्यालयलाई हरियो स्टिकर टाँसिएको छ ।

नेपाल इन्जिनियरिङ एसोसिएसन लुम्बिनी प्रदेशका प्रतिनिधि रुपेश परियारसहितका प्राविधिक टोलीले तोकिएको मापदण्डअनुसार प्रतिवेदन तयार गरी सम्बन्धित निकायमा बुझाउने तयारी गरेको छ ।

सरकारी तथ्यांकअनुसार नरैनापुर गाउँपालिकाको कार्यालय, वडा नं ४ र ६ का कार्यालयमा समेत आगजनी र तोडफोड भएको छ । यस्तै, नेपालगञ्जस्थित नेपाली काँग्रेस र नेकपा एमाले बाँकेको कार्यालयसमेत आक्रमणबाट क्षतिग्रस्त भएका छन् ।

कोहलपुर क्षेत्रमा मात्रै नगर कार्यपालिकाको कार्यालय, राजस्व अनुसन्धान कार्यालय, नगरपालिका प्रमुखको निजी घर, वडा नं ८, ९, ११ र १२ का कार्यालय, इलाका प्रशासन कार्यालय, नगर विकास समिति, महिला तथा बालबालिका शाखा, रोजगार शाखा, युवा सञ्जाल, मालपोत, नापी, यातायात डेस्क र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रमा क्षति पुगेको छ ।

यस्तै, नेपालगञ्जको पुष्पलाल चोक, गणेशमान चोक, बिपी चोक र सेतु विक चोक पनि पूर्णरूपमा क्षति पुग्ने गरी आक्रमणमा परेका थिए ।

प्रतिक्रिया