Listen LIVE

जनकपुरधाममा आज तिलकोत्सव, मटिहानीमा ‘मटकोर’को तयारी

काठमाण्डौ : जनकपुरधाममा जारी साताव्यापी रामजानकी विवाह महोत्सवको चौथो दिन आइतबार तिलकोत्सव विधि गरिँदैछ। तेस्रो दिन बिहीबार धनुषयज्ञ सम्पन्न भएसँगै चौथो दिन तिलकोत्सव हुने भएको हो। 

मार्ग शुक्ल पञ्चमीका दिन मनाइने विवाहपञ्चमी  मंगलबार परेको छ। सातदिने महोत्सवमा बिहीबार नगर दर्शन, शुक्रबार फूलबारी लीला र शनिबार धनुषयज्ञ सम्पन्न भएको छ।

तिलकोत्सव विधि गर्न दहीचिउरा, खिरपुरी, विभिन्न मिठाइ, फलफूल, लताकपडासहित जानकी मन्दिरबाट भार अर्थात् कोसेलीसँगै बाजागाजासहित साधुसन्त जनकपुरकै राम मन्दिरमा पुग्छन्। विवाहअघि बेहुली पक्षले बेहुला अर्थात् वरलाई भार लिएर पुगि तिल्काउने अर्थात् टीकाटालो गर्ने विधि हुन्छ। तिलकोत्सवमा सम्धी मिलन पनि हुन्छ। 

तिलकोत्सव हुँदै गर्दा पाँचौँ दिनको ‘मटकोर’को तयारी पनि थालिएको छ। महोत्तरीको मटिहानीमा मटकोरको तयारी थालिएको छ । जनकपुरधाममा साताव्यापी महोत्सव बिहीबार सुरु भएसँगै विवाहपञ्चमीको एक दिनअघि गरिने ‘मटकोर’ विधिको तयारी मटिहानीस्थित लक्ष्मीनारायण मठले थालेको हो ।

त्रेतायुगमा अयोध्याका राजकुमार मर्यादा पुरुषोत्तम श्रीराम र मिथिला नरेश जनककी पुत्री सीताको विवाह जनकपुरमा गरिँदा यज्ञवेदी बनाउन मटिहानीबाट माटो खनिएको विश्वास गरिन्छ । यसै विश्वासले मटिहानीमा विवाहको एक दिनअघि ‘मटकोर’ उत्सव मनाइँदै आइएको लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा रवीन्द्रदास वैष्णवले बताए।

‘मटिहानीमा रामजानकी विवाह महोत्सवको ‘मटकोर’ उत्सव मनाइने चलन छ, यसअनुसार हामी त्यसको तयारीमा छौँ’, डा वैष्णव भन्छन्, ‘यसमा मटिहानी नगरवासी र नेपाल–भारतका सन्तहरू सम्मिलित हुँदै आएका छन् ।’ मटकोर विधिमा विवाहको एक दिनपूर्व पवित्र ठाउँको माटो खनेर वेदी, मण्डप, घडा, चुल्हो र देवीदेवताका प्रतिमा लेपन गरिने चलन छ । 

माटो खन्न जाँदा बाजागाजासहित महिला जाने गर्छन् । यसरी माटो खन्न जाने बेला महिलाले धानको भुस, चामल, बेसार, दही, फूल, पानको पात, सुपारी र अक्षतासहितका पूजा सामग्रीले भूमि पूजन गर्ने चलन छ ।

छैटौँ दिन जनकपुरकै राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट निस्केका जानकीको डोला रङ्गभूमि मैदान पु¥याइनेछ। त्यहाँ स्वयंवर तथा सीतारामको विवाह हुनेछ। रामसीता विवाह सम्पन्न भएपछि रामकलेवा गरी जन्ती एवं साधुसन्तलाई बिदाइ गर्दै विधिवत् रूपमा विवाह पञ्चमी महोत्सव समापन हुनेछ।

प्रतिक्रिया