Listen LIVE

श्रमिक दिवसबारे नेपालगञ्जका मजदुरनै अनिभिज्ञ

नेपालगञ्ज : श्रमिक दिवसका बारेमा मजदुरहरुनै अन्जान रहेको पाइएको छ । नेपालगञ्जका मजदुरहरुलाई श्रमिक दिवसका बारेमा सोध्दा आफुलाई केही थाहा नभएको प्रतिक्रिया दिएका छन् । 

दिवसका अवसरमा नेपालगञ्जमा निकालिएको जुलुसमा सहभागी मजदुरहरुसँग जिज्ञासा राख्दा उनीहरुले भने,‘मलाई केही थाहा छैन, तिमीहरुकै लागि जुलुस निकालिने भन्दै ल्याए ।’ जुलुसका सबैले श्रमिकका हक अधिकारको बारेमा नारा लगाइरहेका थिए ।

राजनीतिक दलका भातृ सङ्गठनहरू तथा अन्य सरकारी गैरसरकारी निकायहरूका प्रतिनिधिहरूले नारा घन्काइरहेका थिए । तर त्यो छेउमै श्रमिकहरू दैनिकी जस्तै कामको खोजीमा थिए । उनीहरुलाई दिनभर काम गरेर बेलुका छाक टार्न बाहेक अन्य विकल्प नै छैन । दिनभर काम गरेर मात्र बेलुका उनीहरुलाई खाना खाने गुजारा हुने गरेको छ ।

नेपालगञ्जमा मजदुरको रुपमा काम गर्दै श्रमिकहरूले आफ्नै छेउमा नारा घन्काइरहँदा पनि छोएन । उनको कामलाई श्रमिक दिवसको नाराले कुनै असर नगरेको बताए । 

काम नगरेको दिनमा उनको हातमा पैसा हुँदैन, पैसा नभए भोकै बस्नुपर्छ । नेपालगञ्जका मजिदले भने, ‘आजको दिनमा काम नगरे भने ज्याला कसैले दिँदैन । भन्न त मालिकले भन्नु भएको हो आज तेरो बिदा हो भनेर तर मलाई आज बिदा हुँदा बेलुका बालबालिका भोकै बस्छन् भनेर काम गरेको हुँ ।’

नेपालगञ्जको त्रिभुवन चौकको पूर्व लाइनमा विभिन्न ठाउँबाट कामको खोजीमा जम्मा हुने मजदुरहरूको भीडमा ठेकेदारहरूसँग श्रमका बारेमा मोलमोलाई भइरहेका दृश्य देख्न सकिन्छ । एकाबिहानैदेखि खाना बोकेर पुगेका मजदुरहरू आ–आफ्नै धुनमा ठेकेदारसँग मोलमोलाई गरिरहेका हुन्छन् । काम खोज्दै त्यहाँ पुग्ने मजदुरहरू हरेक दिन फरक फरक ठेकेदारसँग काम गर्न जाने गर्छन् ।

उक्त ठाउँमा सडकभरि बिहानैदेखि कामदारहरूको भीड लागेको हुन्छ । सडकमा आवतजावतसम्म गर्न नसकिने गरी जताततै मजदुरहरू कामको आशमा उभिएको देखिन्छन् । कतिपय मजदुरहरू पसलको सटरमा आड लागेर बसेको देखिन्छ ।

बिहान पसलहरू नखुल्ने बेलासम्म सडकको पेटी र सटरको आडको प्रयोग गरिरहेका मजदुरहरू पसल खुलेपछि भाग्नुपर्छ । बर्दिया घर भएकी अस्मितो थारुले भनिन, कहिलेकाहीँ मात्र काम पाउने गरे पनि ठेकेदारसँग काम गरेको दिन भने जतिको पैसा नपाउने गरेको गुनासो गरिन् ।

यस्तै अर्का मजदुर मजिदले आफ्नो ५ वटा बच्चाहरूका लागि मजदुरी गर्न आउने गरे पनि भने जति ज्याला नपाउने गरेको दुखेसो सुनाए ।

बर्दियाको मैनापोखर घर भई हाल नेपालगञ्जमा भाडामा बस्दै आएकी अनिता थारुले भनिन, महिनाभर १०–१५ दिनमात्रै काम पाउने गरेकी छु । 

राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन बाँकेका अध्यक्ष भरत बर्तौलाले सरकारले मजदुरको समस्या प्रति गम्भीर हुन जरुरी रहेको बताउँदै मजदुरलाई ठग्ने, दुःख दिने ठेकेदारहरू माथि कारबाही गर्न जरुरी रहेको जिकिर गरे । उनले नेपालगञ्ज उपमहानगरपालिकाले मजदुरहरूको व्यवस्थापनका लागि योजना बनाएको बताए । समस्या समाधानका लागि योजना बनाएको बताउँदै नेपालगञ्जका उपमेयर कमरुद्दीन राईले मजदुरहरूलाई रामलिला मैदानमा व्यवस्थापन गरिएको बताउँदै मजदुरहरूका लागि खानेपानीको समेत व्यवस्था गरिरहेको बताए । ‘मजदुरहरूको समस्या समाधानका लागि आगामी दिनमा ठोस योजना बनाउँछौँ ।’ उनले भने ।

प्रतिक्रिया