Listen LIVE

प्रतिवन्धित औषधिसहित बाँकेमा तीन जना पक्राउ

नेपालगञ्ज : प्रतिवन्धित औषधिसहित बाँकेमा तीन जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय जयसपुरले ठूलो परिमाणमा प्रतिवन्धित औषधिसहित तीन जनालाई पक्राउ गरेको हो । 

जयसपुर प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक निरज सिंहको कमान्डमा खटिएको टोलीले शनिबार साँझ नेपालगन्ज–१६ भन्सार चोकबाट ५ हजार ट्याब्लेट प्रतिवन्धित औषधि ट्रामाडोलसहित सोही वडाका २४ वर्षीय नफिस कबडिया, ३८ वर्षीय जियाउल शेष र १८ वर्षीय सद्दाम सैयदलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

भारतको रुपईडिहातर्फबाट नेपालगञ्ज आउँदै गरेको अवस्थामा युपी ४० आर ७१४५ नम्बरको भारतीय मोटरसाइकलमा सवार उनीहरु तीनै जनालाई शंका लागेर चेकजाँच गर्ने क्रममा नायब निरीक्षकको टोलीले उक्त परिमाणमा ट्रामाडोल बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ पर्ने नफिस नेपालगञ्ज–१६ कै स्थानीय हुन् भने जियाउल र सद्दाम भारतको कलकत्ता र सदाम भारतको जागोर घर भएर हाल नेपालगञ्ज–१० स्थित ट्राफिक चोकमा बस्दै आएका थिए । पक्राउ परेका उनीहरु लागुऔषध तथा प्रतिवन्धित औषधिको कारोबारी भएको अनुमान गरिएको छ ।

तीनै जनालाई बरामद गरिएको ट्रामाडोलसहित जिल्ला प्रहरी कार्यालय बाँकेमा लगेर थप अनुसन्धान अगाडि बढाइएको छ ।

प्रतिक्रिया