नेपालगञ्ज : नेपालगञ्जको बागेश्वरी मन्दिर परिसरमा सरसफाई गरिएको छ । वातावरणीय संरक्षणमा सचेतना जगाउने तथा स्थानीय समुदायलाई सरसफाई गर्न प्रोत्साहन गर्ने उद्देश्यले सामुदायिक सरसफाई कार्यक्रम सञ्चालन गरिएको हो ।
क्लिन अप नेपाल (स्वच्छ सफा नेपाल) को आयोजना, स्ट्यान्डर्ड चार्टर बैंक लिमिटेड नेपालको आर्थिक सहयोग र बास नेपालको समन्वयमा उक्त कार्यक्रम गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ मा अवस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको पार्किङ क्षेत्र, तलाउ क्षेत्र तथा मन्दिरको चौतर्फी सरसफाई गरिएको थियो ।
कार्यक्रमको उदघाटन सत्रमा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै क्लिन अप नेपालका कार्यकारी निर्देशक रबिन्द्र लामिछानेले समुदाय सरसफाई एक ब्यक्ति वा निकायले गरेर मात्रै नहुने बताउँदै सबैको संयुक्त प्रयास (सिनर्जी) मार्फत गर्नुपर्ने आवश्यकता महसुस गरी कार्यक्रमको योजना गरिएको बताए । उनले नेपालगञ्जको सौन्दर्यकरणमा लाग्न सबैलाई अनुरोध गरे ।
कार्यक्रममा बोल्दै स्ट्यान्डर्ड चार्टर बैंक लिमिटेड नेपालगञ्ज शाखा प्रबन्धक हर्मेस सोनीले निजी क्षेत्रको सहभागितामा समुदाय सरसफाई अभियानले स्थानीयहरुमा सचेतना फैलाएको बताए । उनले दिगो सरसफाई अभियानको प्रोत्साहन र प्रवद्र्धनमा बैंकले आगामी दिनमा समेत सहकार्य गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
कार्यक्रममा बास नेपालका अध्यक्ष शिव कुमार वर्माले जलवायु परिवर्तन, वातावरण संरक्षण र हरित योजना सम्बन्धि जनचेतना अभिवृद्धिको आवश्यकता रहेकोमा क्लिन अप नेपालले गरेको कार्य समुदाय सचेतनाका लागि महत्वपूर्ण हुने बताए । उनले नेपालगन्जलाई सुन्दर बनाउने अभियानमा सहयोग तथा सहकार्य गर्ने सबैलाई धन्यबाद ज्ञापन गरे ।
बास नेपालका केन्द्रीय अध्यक्ष वर्माको अध्यक्षता तथा क्लिन अप नेपाल (स्वच्छ सफा नेपाल) का कार्यकारी निर्देशक लामिछानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्ट्यान्डर्ड चार्टर बैंक लिमिटेड नेपालका शाखा प्रबन्धक सोनी, नेपालगञ्ज उपमहानगरपालिका वातावरण शाखाका शिव लामिछाने, ग्रीन नेपालगञ्ज–क्लिन नेपालगञ्जका संयोजक डा. बिनोद कर्ण, बास नेपालका निर्देशक हेमराज भट्ट, हरित अभियन्ता हेमन्तराज काफ्ले, क्लिन अप नेपालका कार्यक्रम संयोजक कैलाश बिक्रम शाही, प्रिति प्रधानांग लगायतको सहभागिता रहेको थियो ।
सामुदायिक सरसफाई कार्यक्रममा कुल फोहर १३७ किलोग्राम संकलन भएको थियो । परियोजनाअन्तर्गत क्लिन अप नेपालले नेपालगञ्जमा समुदाय सरसफाई अभियान, बृक्षारोपण लगायत सचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार