नेपालगञ्ज : बाँके जिल्लाका विभिन्न स्थानबाट गत आर्थिक वर्ष २०८१/०८२ मा ५५५ जना महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराएको भनि निवेदन परेकोमा ५१४ जनालाई खोजेर परिवारको जिम्मा लगाइएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेमा गत आवमा ५५५ जना महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराएको भनि निवेदन परेकोले प्रहरीले खोज तलाश गरेर ५१४ जनालाई फेला पारी परिवारको जिम्मामा लगाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले बताए ।
उनले प्रहरीले उनिहरूलाई खोज तलाश गरेर परिवारको जिम्मा लगाउँदा परिवारका सदस्यहरू निकै भावुक र खुसी बनेको बताए ।
सोही अवधीमा प्रहरीले जिल्लाका विभिन्न स्थानमा अलपत्र अवस्थामा भेटिएका २४९ जना महिला बालबालिका तथा ज्येष्ठ नागरिकलाई फेला पारी उद्धार गरिएको प्रहरी नायब उपरीक्षक पातलीले बताए ।
उनले ती मध्ये ९४ जनालाई संरक्षणका लागि विभिन्न संस्थामा पठाइएको जनाए ।
यसैगरी उक्त अवधिमा प्रहरीले यहाँस्थित नेपाल भारत सीमा नाका जमुनाहाबाट ९०७ जना महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरुको उद्धार गरेको बाँकेका प्रहरी प्रवक्ता पातलीले बताए ।
नाकामा तैनाथ प्रहरीले भारत जाने महिला तथा बालबालिकामाथि विशेष निगरानी राख्ने गरेको जनाउँदै उनले शङ्का लागेकाहरूसँग गहिरिएर सोधपुछ गर्दा जोखिमपूर्ण यात्रा काममा भारत जान लागेको पाइएकाले उनिहरूको उद्धार गरेर घर फिर्ता गरिएको बताए ।
प्रहरीको समुदाय प्रहरी सहकार्यतर्फ मातहतसहित गरी गत वर्ष एक हजार ९४ पटक सचेतनामूलक कार्यक्रम गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले सञ्चालन गरेका सचेतनामूलक कार्यक्रमहरू मध्ये लागुऔषध, साइबर अपराध, मानव बेचबिखन, आत्महत्या र अल्पसङ्ख्यकसँग प्रहरी, नागरिक सुनुवाइ र चोरीसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो ।
यस्तै जिल्लामा ट्राफिक सचेतनातर्फ दुई हजार ६२४ सचेतनामूलक कार्यक्रम (लेन अनुशासन, जेब्रा क्रसिङ, ट्राफिक लाइट सम्बन्धि) सञ्चालन गरेर ट्राफिक नियमसम्बन्धी विभिन्न जानकारी चालक, सर्वसाधारण, विद्यार्थीलाई गराइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार