दाङ : बालबालिका तथा महिलाको स्वास्थ्य र कल्याणका लागि थारु समुदायमा प्रचलित परम्परागत लौठसारी पूजा सुरु भएको छ । वर्षमा दुई पटक मनाइने यो पूजा थारु समुदायको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक आस्थासँग जोडिएको विधि मानिन्छ ।
हरेक वर्ष कार्तिक–मंसिर र चैत–वैशाखमा लौठसारी पूजा गर्ने चलन रहेको तुलसीपुर उपमहानगरपालिका –११ उरहरीका मटावाँ तथा देशबन्ध्या गुर्वा पूर्णबहादुर चौधरीले बताए । “थारु समुदायमा यो पूजा अनिवार्यजस्तै मानिन्छ” उनले भने, “वर्षमा दुई पटक देशबन्ध्या गुर्वा वा घरगुर्वाले पूजा गरिदिन्छन् उनले भने । लौठसारी पूजा गरेपछि घरको बालबालिका तथा महिलाको स्वास्थ्य राम्रो हुने, रोगव्याधि घट्ने र पारिवारिक सुख–समृद्धि आउने जनविश्वास छ ।
पछिल्लो समय गैरथारु परिवारले पनि लौठसारी पूजा गराउने बढिरहेको उनले बताए । “म अहिले करिब ४५० घरमा लौठसारी पूजा गर्छु” उनले भने, “तीमध्ये करिब एक सय वटा पहाडी समुदायका घर छन ।” दाङ, बाँके र बर्दियाका विभिन्न ठाउँबाट उहाँलाई पूजा गर्न बोलाउने गरिन्छ । पूजा गरेबापत सेवा शुल्क तय गरिएको छैन ।
स्वच्छाले कोही पाँचसय दिनुहुन्छ, कोही एक हजार, उनले भने । उनी शिक्षण पेशा छाडेर पूर्णरूपमा पूजापाठ र धर्मकर्ममा लागेका छन् । “संस्कृतिको संरक्षण गर्दै काम गर्दा ठूलो सन्तुष्टि मिल्छ” उनको भनाइ छ । उनले करिब ४२ वर्षदेखि थारु संस्कारअनुसारका पूजापाठ गर्दै आएका छन् ।
यसैगरी, दंगीशरण –३ हेकुलीका गुर्वा खुशीराम चौधरी पनि अहिले लौठसारी पूजामा अत्यन्त व्यस्त छन् । आफ्नै गाउँदेखि छिमेकी गाउँ र पालिकासम्म पुगेर उनले पूजा गरिदिन्छन् । “पहिला टाढाका गाउँसम्म पनि जान्थेँ, अब उमेर लागेपछि धेरै टाढा जान छाडेको छु, कोही गाडी लिएर आउनुभयो भने त्यहाँ पनि गइदिन्छु, खुशीरामले भने, “३५–३६ वर्षदेखि निरन्तर गुरैपाटी गर्दैआएको छुँ ।”
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार