Listen LIVE

मौलिक वेशभूषा जोगाउन नयाँ पुस्ता सक्रिय

दाङ : पछिल्लो समय आधुनिकताको प्रभावसँगै थारू समुदायको मौलिक वेशभूषा विस्तारै लोप हुँदै जाने चिन्ता बढ्दै गएको छ । यस्तो अवस्थामा केही थारू महिलाले आफ्नो मौलिक पहिरन जोगाउन र त्यसको महत्वबारे नयाँ पुस्तालाई सचेत गराउन सक्रियता देखाउन थालेका छन् । 

घोराही उपमहानगरपालिका–१०, जलौराकी इन्दिरा चौधरी थारू समुदायको मौलिक वेशभूषा संरक्षणमा क्रियाशील महिलामध्ये एक हुन् । उनले चाडपर्वमा मात्र नभई गाउँघरमा हुने विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रममा पनि थारू समुदायको मौलिक पहिरन लगाएर सहभागी हुने गर्छिन् ।

उनका अनुसार मौलिक वेशभूषा समुदायको पहिचान र संस्कृति झल्काउने महत्वपूर्ण पक्ष हो । “कार्यालय जाँदा कार्यालयको पहिरन लगाएर जान्छु,” उनले भनिन, “तर त्यसबाहेकका विभिन्न कार्यक्रम, गाउँघरका भेटघाट र सांस्कृतिक गतिविधिमा भने सकेसम्म आफ्नै मौलिक पहिरन लगाएर सहभागी हुने गर्छु ।” यस्तै घोराही उपमहानगरपालिका–१७, ओखराकी निशा चौधरी अहिले सामाजिक सञ्जालका माध्यमबाट पनि मौलिक पहिरनको प्रचारप्रसार गर्न सकिने भएकाले कहिलेकाहीँ टिकटकलगायतका माध्यममा पनि थारू पहिरनमा देखिने गर्छिन् । उनी पनि विभिन्न कार्यक्रम, सभा तथा सांस्कृतिक गतिविधिमा थारू वेशभूषा लगाएर सहभागी हुँदा आफूलाई गर्व लाग्ने बताउँछिन् । 

अहिले थारू सांस्कृतिक सङ्ग्रहालय चखौराले पनि थारू वेशभूषा संरक्षणमा योगदान दिँदै आएको छ । सङ्ग्रहालय अवलोकन गर्न पुग्ने जोकोहीले पनि अहिले त्यहाँ थारू पहिरनमा सजिएर टिकटक बनाउने, फोटो खिचाउने गरेको सङ्ग्रहालयकी व्यवस्थापक शान्ता चौधरीले बताइन् । उनका अनुसार सङ्ग्रहालयमा पूर्वदेखि पश्चिम थारू समुदायको वेशभूषा सिलाएर राखिएका छन् ।

प्रतिक्रिया