नेपालगञ्ज : बाँके जिल्लाको जानकी गाउँपालिका–३ इन्द्रपुरका एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ । जानकी गाउँपालिका ३ इन्द्रपुरस्थित बसिर अलीका ९ वर्षीय छोरा अर्थान अलीको घर नजिकै रहेको पोखरीमा माछा मार्न जाँदा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
अर्थान अलि घरभन्दा १५० मिटरको दुरीमा रहेको पोखरीमा माछा मार्ने क्रममा चिप्लिएर पोखरीमा डुबेर बेपत्ता भएका थिए ।
सशस्त्र प्रहरीको गोताखोर टोलीले ती बालकको खोजी गर्दा शव बाहिर निकालेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० बाँकेका प्रमुख सशस्त्र एसपी विमल डाँगीले बताए । उनका अनुसार डुबेर बेपत्ता भएका बालकको खोजीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेबाट गोताखोर पठाइदिन अनुरोध गरिएकोमा सशस्त्र प्रहरी बल नेपाल बिओपि जयसपुरबाट सशस्त्र प्रहरी निरीक्षक ललित शाहीको कमाण्डमा ७ जनाको टोली र सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण शमशेरगञ्जबाट सशस्त्र प्रहरी नायब निरीक्षक टेक प्रसाद आचार्यको कमाण्डमा ६ जनाको गोताखोर टोलीले पोखरीमा खोजी गरेर बालकको शव निकालेको हो ।
बालकको शवलाई पोष्टमार्टमका लागि भेरी अस्पताल पठाएर पोस्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । केही दिन यता भएको वर्षाले गर्दा विभिन्न ठाउँमा रहेका पोखरी, नाला र तलाउहरूमा पानी भरिएकोले ती स्थानमा बालबालिकालाई जान नदिन र सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय बाँकेले बाँकेवासीसँग अनुरोध गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुल बहादुर कार्कीले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार