नेपालगञ्ज : नेपालकै पहिलो कान उपचार सेवा दिने ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवामा पहिलो पटक बिरामीलाई पूर्ण वेहोस बनाएर कानको सफलतापूर्वक शल्यक्रिया गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ५ फुलटेक्रास्थित ब्रिनोजमा जुम्लाका १२ वर्षीय बालक बीर बहादुर बुढालाई पूर्णरुपमा वेहोस बनाएर कानको सफलतापूर्वक शल्यक्रिया गरिएको इएनटी सर्जन डा.आनन्द झाले जानकारी दिए ।
कान वारम्वार पाक्ने र सुनुवाइमा समेत समस्या देखिएका बुढा मंंगलवारमात्रै उपचारका लागि ब्रिनोजमा आएका थिए । ‘लामो समयदेखि कान पाक्ने, श्रवण शक्ति घट्दै गएपछि ती बालकलाई ब्रिनोजमा ल्याइएको थियो । हाम्रो टिमले सफलतापूर्वक शल्यक्रिया गरेका छौं’–उनले भने । यस्तो समस्यालाई मेडिकल भाषामा क्रोनिक ओटाइटिस मिडिया भनिन्छ । समयमै यसको पहिचान र उपचार नभए पछि बहिरोपना नै बनाइदिने डा. झा बताउँछन् ।
बालकको स्वास्थ्य अवस्था सामान्य छ । डा. झासँगै अर्का इएनटी सर्जन अजय वैश्य, एनेस्थिेसियामा डा. वर्षा कार्की, नर्स नन्दनी थारु शल्यक्रियामा खटिएका थिए । बाल्यकालमा बारम्बार हुने रुघाखोकी, चोटपटक लगायतका कारणले क्रोनिक ओटाइटिस मिडियाको जोखिम बढी हुने गर्छ ।
डा.झाले भने–‘क्रोनिक ओटाइटिस मिडिया भनेको कानको मध्यभागमा दीर्घकालसम्म रहने संक्रमण हो जसले सुन्ने शक्ति गुमाउनेदेखि लिएर गम्भीर जटिलता ल्याउन सक्छ, त्यसैले छिट्टै उपचार गर्नु अत्यन्तै आवश्यक हुन्छ ।’ कानको डेडिकेटेड अस्पतालका रुपमा रहेको ब्रिनोजमा पछिल्लो समय जटिल खालका शल्यक्रियाहरु भइरहेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार