Listen LIVE

अदालतको आदेशपछि बिसमिल्लाह होटेलका सञ्चालक साईं फरार

यदुराज मिश्र/नेपालगञ्ज : बिस्मिल्लाह होटेलका सञ्चालक मोहम्मद उमर साईंलाई बाँके जिल्ला अदालतले जरिवाना र कैद सुनाएपछि उनी फरार भएका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ११ स्थित बिस्मिल्लाह होटेलका सञ्चालक साईंलाई बिरयानी, कवाब, शोर्मा लगायतमा अखाद्य कोलटार रङ्ग प्रयोग र फोहोर ठाउँमा मासु भण्डारण गरेको आरोपमा जिल्ला अदालत बाँकेले ६ महिनाको कैद र एक लाख रुपैयाँ जरिवाना सजाय सुनाएपछि उनी फरार भएका हुन् ।

साईंमाथि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्ज बाँकेले उनको होटेलमा कैफियत पाएपछि जिल्ला अदालत बाँकेमा मुद्दा दायर गरेको थियो । अनुगमनका क्रममा भण्डारण कक्ष अत्यन्त फोहोर पाइएको, खाने कुरा अव्यवस्थित गरिराखेको, कच्चा पदार्थ भण्डारण गर्ने स्थानमा नै फोहोर फाल्ने गरेको, खाद्य पदार्थ वरिपरि थुक्नेलगायत स्वास्थ्यसँग खेलबाड गर्ने क्रियाकलाप र लापरबाही गरेको पाइएको जनाउँदै सो कार्यालयले गत वर्ष २०८१ जेठ ५ गते बिसमिल्लाह होटेलका सञ्चालक साईंविरुद्ध जिल्ला अदालत बाँकेमा मुद्दा दायर गरेको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्ज बाँकेका खाद्य निरीक्षक रामहरि लामिछानेले दायर गरेको सो मुद्दामा जिल्ला अदालत बाँकेका न्यायाधीश केशवराज चपाईको इजलासले फैसला सुनाउँदै प्रतिवादीलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ४२ (१) (ख) बमोजिम ६ महिना कैद र एक लाख रुपैयाँ जरिबाना हुने ठहरिएकाले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३१ बमोजिम फैसला गरिएको अदालतले जनाएको छ ।

साईंको बिसमिल्लाह होटेल मात्र नभई उनकै नामबाट आयुर्वेद न्यू रिल्याक्स स्पा समेत दर्ता रहेको छ । स्रोतका अनुसार विभिन्न फर्महरु साईंकै नाममा दर्ता भएपनि उनले आफ्नो कर्मचारीमार्फत काम गर्दै आएका छन् ।

बिसमिल्लाह होटेलमा तयार गरिएको खाद्य परिकारहरुले प्रत्यक्षरुपमा मानव जीवनमा हनिकार रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले जनाएको छ ।

बिस्मिल्लाह होटेलद्वारा तयार गरी ग्राहकलाई पस्कने बिरयानी, कवाब, शोर्मा लगायतमा कोलटार रङ्ग प्रयोग गर्नुले स्वास्थ्यमा गहिरो प्रभाव पर्नुका साथै भविष्यमा क्यान्सर जस्तो भयावाह बिमारी हुनसक्ने सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया