Listen LIVE

बर्दियामा एक वर्षमा १ सय ९९ लैंगिक हिंसाका घटना

बर्दिया : करिब एक वर्षको अवधिमा जिल्लामा १ सय ९९ लैंगिक हिंसाका घटना घटेको पाइएको छ । आर्थिक वर्ष ०८१–०८२ को साउन १ गते देखि असार १९ गतेसम्म १ सय ९९ लैंगिक हिंसाका घटना घटेको पाइएको हो ।

बर्दिया अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र(ओसिएमसी)को वार्षिक समीक्षामा उक्त तथ्यांक सार्वजनिक गरिएको छ ।

चालु आर्थिक वर्ष ०८१–०८२ को साउन देखि असार १९ गतेसम्म पुरुष ८ र महिला १ सय ९१ गरी जम्मा १ सय ९९ जना लैंगिक हिंसामा परेर ओसिएमसीमार्फत निःशुल्क सेवा लिएको अस्पताल ओसिएमसीकी सम्पर्क व्यक्ति सपना बाठा मगरले जनाइन् ।

‘ओसिएमसीमा आफैं आउने १ सय २०, प्रहरीबाट ७१, गैरसरकारी संस्थाबाट ५, स्वास्थ्य चौकीबाट २, सेवा केन्द्रबाट १ जना हिंसा पिडित आएर सेवा लिएका छन्,’ उनले भनिन्,‘त्यसैगरि पीडितलाई सेवा दिइ आफन्तलाई १ सय ८, प्रहरीलाई ७२, माइती नेपाललाई ५, सेवा केन्द्रलाई ४, उपचारको लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा ९ र लिगल एडप्सनमा १ जनालाई पठाइएको छ ।’

रेपका ३४, यौन दुव्र्यवहार १७, कुटपिट ४४, बालविवाह ८९, बाँच्ने अधिकारबाट बञ्चित १, मानसिक यातना १३ र अन्य १ जना लैंगिक हिंसाबाट प्रभावित भएको देखिन्छ ।

गुलरिया ८८, बाँसगढी ९, बारबर्दिया १८, मधुवन ३१, ठाकुरबाबा ५ र राजापुर नगरपालिमा १५ जना लैङ्गिक हिंसामा परेको देखिन्छ भने गेरुवा ९ र बढैयातालका १६ जना लैंगिक हिंसामा परेर ओसिएमसीमा सेवा लिएका छन् । त्यसैगरि बाँकेका ५, सुर्खेत, जुम्ला, रुकुमका एक एक जना लैंगिक हिंसामा परेको देखिन्छ । आठ वटै पालिका मध्ये सबै भन्दा बढी गुलरियामा लैंगिक हिंसाका घटना भएको ओसिएमसीको तथ्यांकले पुष्टि गरेको छ ।

लैंगिक हिंसामा परेका पीडितलाई ओसिएमसीले निःशुल्क रूपमा स्वास्थ्योपचार, मानसिक एवंम् मनोसामाजिक परामर्श, कानुनी उपचार, सुरक्षा, आश्रय र पुनस्र्थापनाको सेवा तथा हिंसा नियन्त्रणमा योगदान पु¥याउने उद्देश्यले ओसिएमसीले काम गरिरहेको छ ।

गुलरियामा लैंगिक हिंसा बढी देखिएकोले समन्वय गरी जनचेतना फैलाउनु पर्ने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । ‘अन्य पालिकाबाट पनि ओसिएमसीमा पीडितहरू आउन सकेका छन् कि छैनन्, त्यसतर्फ ध्यान दिन जरुरी छ,’ प्रजिअ पौडेलले भने, ‘हिंसाका घटना समाजमा नलुकाएर कानुनी दायरामा ल्याउनुपर्छ ।’

प्रतिक्रिया