Listen LIVE

मानवसेवा आश्रममा बुवाको मुख हेर्ने दिन मनाइयो

नेपालगञ्ज : मानवसेवा आश्रम, बाँके शाखामा बुवाको मुख हेर्ने दिन (कुशेऔंशी) विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ । आश्रममा हाल आश्रित रहेका ६० वर्ष नाघेका २० जना बुबाहरूलाई यस अवसरमा सम्मान गरिएको थियो । उनीहरू विगतमा आफ्ना सन्तानलाई हुर्काई–पढाई जीवन समर्पण गरी अहिले उमेर ढल्किँदा कमजोर बनेका र सडकमा आश्रय लिन विवश अवस्थामा उद्धार गरिएका व्यक्ति हुन् ।

कार्यक्रमका अवसरमा आश्रमका अभिभावकहरूले बुबाहरूलाई टीका, टोपी, फलफूल, मिठाईलगायतका सामग्री प्रदान गरेका थिए । यस क्रममा वातावरण निकै भावनात्मक र हृदयस्पर्शी बनेको थियो । कार्यक्रममा अभिभावक जयकेश सिंहले सन्देश दिँदै भने, “बुबाले सन्तानका लागि जीवनभरि त्याग गरेर हुर्काए पनि उमेर ढल्किँदा सन्तानले हेरचाह गर्ने दायित्व पूरा गर्न बिर्सिंदै गएका उदाहरणहरू बढिरहेका छन्, जुन समाजकै लागि गम्भीर चिन्ताको विषय हो ।”

त्यस्तै अभिभावक सुशिला शर्माले “म आफैं ८० वर्ष नाघेकी भए पनि अझै आफ्ना बुबालाई सम्झन्छु” भन्दै आफ्नो अनुभूति साझा गरिन् । कार्यक्रममा गोविन्द पाण्डे, कृष्णप्रसाद श्रेष्ठ, शुक्रऋषि चौलागाईं, भावना सापकोटा, जितबहादुर शाह, कृष्णमुरारी भट्टलगायतको उपस्थिति रहेको थियो । आश्रम परिवारका तर्फबाट अभिभावकहरूलाई पनि टिका, टोपी, खादा, मिठाई र आश्रमको डायरी ‘मायाको चिनो’ स्वरूप प्रदान गरिएको थियो ।

“कार्यक्रमको सञ्चालन मानवसेवा आश्रम बाँके जिल्ला सह–संयोजक विष्णु घर्तीले गरेकी थिइन् । उनको सुमधुर स्वर र सुस्पष्ट प्रस्तुतिले उपस्थित सबैलाई मन्त्रमुग्ध बनाएको थियो ।” 

सो अवसरमा आश्रममा आश्रित बुबाहरू विशेषरूपमा खुशी देखिएका थिए । त्यो खुशी तिनका अनुहार र आँखा दुवैमा स्पष्ट झल्किरहेको थियो, जसले समाजको माया–ममता पाएको आत्मीय अनुभूति प्रकट गरेको थियो ।

हाल मानवसेवा आश्रम, नेपालगञ्जमा ६५ जना आश्रित रहेकोमा ४५ जना पुरुष, २० जना महिला तथा तीन वर्षीया बालिका समेत छन् । जन्मदिन, पितृ स्मृति तथा अन्य विशेष अवसरमा प्राप्त हुने नगद तथा जिन्सी सहयोगकै आधारमा आश्रम सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया