Listen LIVE

मानवबेचविखनविरुद्ध काम गर्ने संस्थालाई सामग्री हस्तान्तरण

नेपालगञ्ज : बाँके युनेस्को क्लबले नेपाल भारत सीमा नाका लगायतमा मानवबेचविखनबिरुद्ध काम गर्दै आएको एक संस्थालाई सुदृढ बनाउनुका साथै सेवालाई प्रभावकारी बनाउन बिभिन्न सामग्री हस्तारन्तरण गरेको छ ।  

प्लान इन्टरनेशनल नेपालको साझेदारीमा क्लबद्धारा बर्दियामा सञ्चालित सुरक्षा परियोजनाअन्तर्गत साथी संस्थाद्वारा सञ्चालित सूचना केन्द्रलाई विभिन्न आवश्यक सामग्रीहरू हस्तान्तरण गरिएको हो ।

बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले मानवबेचविखन नियन्त्रणमा सघाउ पुग्ने गरि साथी संस्थाको सूचना केन्द्रलाई सक्षम बनाउन विभिन्न सामग्री हस्तान्तरण गरिएको बताए । 

हस्तान्तरण कार्यक्रममा सुरक्षा परियोजनाका कार्यक्रम संयोजक ईश्वर बिकले यो पहल मानव बेचबिखनबाट प्रभावित समुहहरूको सेवामा सुधार गर्न समुदायस्तरमै सेवा प्रवाह प्रणालीलाई सुदृढ बनाउने उद्देश्य अन्तर्गत गरिएको जानकारी गराए । 

साथी संस्थाको सूचना केन्द्रलाई हस्तान्तरण गरिएका सामग्रीहरुमा ल्यापटप, स्टिल क्याबिनेट, काठको टेबल, घुम्ने कुर्सी, एयर कूलर, कार्पेट, पारदर्शी पर्दा, सिलिङ फ्यान, भ्याकुम क्लिनर, प्रोजेक्टर, टेबल फ्यान, इनभर्टर र ब्याट्री लगायतका सामग्रीहरू रहेको बाँके युनेस्को क्लबले जनाएको छ । 

यस सहयोगले सिमा नाकामा आवत जावत गर्ने लाभग्राहीहरू र त्यहाँ कार्यरत कर्मचारीहरूलाई सेवा प्रदान गर्न सहज र सरल हुने विश्वास लिइएको छ 

उक्त सामग्रीहरू बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक गुलाम गौस र सुरक्षा परियोजना संयोजक ईश्वर बिकले साथी संस्थाकी कार्यकारी समिति सदस्य सरस्वती शर्मालाई औपचारिकरूपमा हस्तान्तरण गरेका थिए । 

सामग्रीहरु प्राप्त गरेपछि साथी संस्थाकी कार्यकारी समिति सदस्य शर्माले भनिन–‘हामीले चाहिने अत्यावश्यक सामग्रीहरू प्राप्त गरेका छौँ, जसले सूचना केन्द्र  सञ्चालनमा निकै सहजता ल्याउनेछ । अब काम गर्न कर्मचारीलाई सहज पनि हुनेछ ।’ 

बर्दियामा सञ्चालित सुरक्षा परियोजनाले मानवबेचविखन नियन्त्रणका लागि सीमा नाकामा काम गर्नेहरुदेखि समुदायमा समेत बिभिन्न गतिविधि र कार्यक्रमहरु निरन्तर गरिरहेको छ । 

सोही परियोजनाअन्तर्गत बर्दिया जिल्ला प्रशासनमा डिजिटल बोर्ड स्थापना गरिएको छ भने सीमा नाकामा काम गर्ने सुरक्षाकर्मी र सरोकारवालालाई विभिन्न प्रशिक्षण र अभिमुखिकरण समेत दिंदै आएको क्लबका अध्यक्ष रवि तुलाधरले बताए ।

प्रतिक्रिया