Listen LIVE

बाँकेमा धमाधम लालपुर्जा वितरण गर्दै आयोग

नेपालगञ्ज : भूमि समस्या समाधान आयोग बाँकेले बाँकेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीका लागि लालपुर्जा वितरण गर्ने काम तिव्र पारेको छ । 

गत वैशाख २० गते कोहलपुर नगरपालिका वडा १ का ११६ जना भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण गरेर अभियान सुरु गरेको आयोगले जेठ ३१ गते वडा १ कै ६८ जना अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरण गरिसकेको छ ।

आयोगले शुक्रबार एक सूचना जारी गर्दै कोहलपुर–१, कै ६३४ जना अव्यवस्थित बसोवासीलाई जग्गा दर्ता गर्न आउनका लागि जानकारी गराएको छ । आयोगले एक हप्ताभित्र तोकिएको राजस्व बैँकमा जम्मा गरेर जग्गा दर्ताका लागि आयोगमा आउन अनुरोध गरेको हो ।

आयोग बाँकेका अध्यक्ष घननाथ खनालले कोहलपुर नगरपालिका वडा १ का थप ६३४ जना अव्यवस्थित बसोवासीलाई लालपुर्जा प्राप्त गर्न राजस्व जम्मा गर्न सूचना जारी गरिएको जानकारी दिए । 

“वडा नम्बर १ मा केही दिनअघि ६८ जना अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरण गरेका छौँ, सोही वडाका थप ६३४ जनाले नियमानुसार राजस्व जम्मा गरेर आएपछि उहाँहरूलाई पनि तत्काल लालपुर्जा वितरण गर्छौ” उनले भने, “सोही वडाका थप १००१ जना अव्यवस्थित बसोवासीका लागि राजस्व जम्मा गर्न आइतबार सूचना प्रकाशित गर्दैछौँ, यो महिनाभित्र जिल्लाका करिब ३७ सय  भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोवासीलाई राजस्व जम्मा गर्न सूचना प्रकाशित गर्ने योजना बनाएका छौँ ।”

अध्यक्ष खनालका अनुसार राप्तीसोनारी–४ का करिब १४ सय भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासी र खजुराका ३३ जना भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई राजस्व जम्मा गर्न आइतबार सूचना प्रकाशित गर्ने तयारी गरिएको छ । “राजस्व जम्मा गरेर आउनु हुने भूमिहीन र अव्यवस्थित नागरिकलाई तीव्र रूपमा लालपुर्जा वितरण कार्य अगाडि बढाइरहेका छौँ, जतिसक्दो छिटो सबैलाई लालपुर्जा वितरण गर्ने तयारीमा जुटेका छौँ” उनले भने ।

आयोगले छुट भएका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीका लागि दोस्रो चरणको ३५ दिने सूचना प्रकाशित गरेर आवेदन सङ्कलन गर्ने काम सुरु गरेको छ । जिल्लाको बैजनाथ र खजुरा गाउँपालिकाबाट छुट भएका भूमिहीन नागरिकले दोस्रो चरणको सूचनाअनुसार नयाँ आवेदन सङ्कलन गर्ने कार्य भइरहेको अध्यक्ष खनालले जानकारी दिए ।

बाँकेमा हालसम्म ५३ हजार ७०५ जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीले जग्गा प्राप्तिका लागि आयोगमा आवेदन दर्ता गराएका छन् । जसमध्ये भूमिहीन दलितको सङ्ख्या तीन हजार ६८१, भूमिहीन सुकुम्वासीको सङ्ख्या छ हजार ७९८ र अव्यवस्थित बसोवासीको सङ्ख्या ४३ हजार २२६ रहेको अध्यक्ष खनालले जानकारी दिए ।

बाँकेका ८ वटा पालिकामध्ये सबैभन्दा बढी कोहलपुर नगरपालिकाबाट जग्गा प्राप्तिका लागि आवेदन दर्ता भएको आयोगले जनाएको छ । आयोगका अनुसार कोहलपुर नगरपालिकाबाट १७ हजार ६१५, राप्तीसोनारी गाउँपालिकाबाट १२ हजार ५२३, बैजनाथ गाउँपालिकाबाट १० हजार ११२, खजुरा गाउँपालिकाबाट पाँच हजार २५८, नेपालगञ्ज उपमहानगरपालिकाबाट तीन हजार ४२, जानकी गाउँपालिकाबाट दुई हजार ८१० र सबैभन्दा कम नरैनापुर गाउँपालिकाबाट दुई हजार ३४५ वटा आवेदन फारम दर्ता भएका छन् । डुडुवा गाउँपालिकाबाट आयोगमा हालसम्म सम्झौता नभएका कारण त्यहाँको विवरण अझै प्राप्त नभइसकेको आयोगले जनाएको छ ।

प्रतिक्रिया