नेपालगञ्ज : प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बाँकेमा नेपाली सेनाले अन्य सुरक्षा निकायसँग समन्वय गरी विशेष सुरक्षा रणनीति अपनाएको छ।
भारतसँग खुला सिमाना जोडिएको नेपालगञ्ज उपमहानगरपालिका, डुडुवा, नरैनापुर र जानकी गाउँपालिकाको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था अत्यन्तै चुस्त–दुरुस्त बनाइएको हो।
नेपाली सेनाले जिल्लाका आठवटै स्थानीय तहमा निर्वाचन सुरक्षा बेस स्थापना गरी सात सयभन्दा बढी सेना परिचालन गरेको बज्र दल गणका प्रमुख सेनानी रामचन्द्र श्रेष्ठले बताए। उनका अनुसार माघ २१ गतेदेखि नै नरैनापुर–५ खोदवास्थित अस्पताल, डुडुवा गाउँपालिकाको कार्यालय, जानकी गाउँपालिकाको कार्यालय, खजुरा गाउँपालिका, राप्तीसोनारी गाउँपालिका, बैजनाथ गाउँपालिकाको कार्यालय, कोहलपुर नगरपालिका तथा नेपालगञ्ज उपमहानगरपालिकामा सुरक्षा बेस स्थापना गरिएको छ।
प्रमुख सेनानी श्रेष्ठको कमान्डमा बज्र दलअन्तर्गतका अधिकृतस्तरका सैनिकको नेतृत्वमा ती बेस सञ्चालनमा रहेका छन्। हाल जिल्लाको सुरक्षाका लागि सात सयभन्दा बढी सैनिक फौज परिचालन गरिएको सेनाले जनाएको छ।
बज्र दल गणका अनुसार सेनाले प्रत्येक पालिकामा अस्थायी हेलिप्याड निर्माण गरेको छ। बुधबार मात्रै आठवटै पालिकामा बख्तरबन्द गाडीसहित विशेष फोर्सले ‘पेट्रोलिङ’ सम्पन्न गरेको छ। जमिनमा सुरक्षाका लागि बख्तरबन्द गाडीसहित विशेष फौज परिचालन गरिएको छ भने विगत एक महिनादेखि ‘भेहिकल पेट्रोलिङ’, ‘डे–नाइट पेट्रोलिङ’ र ‘फ्ल्याग मार्च’ सञ्चालन गर्दै आएको जनाइएको छ।
यसैगरी, सुरक्षा बेसहरूमा बम डिस्पोजल टोलीलाई ‘हाई अलर्ट’मा राखिएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै गाउँबस्तीमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी स्थानीयवासीलाई सम्पर्क नम्बरसमेत उपलब्ध गराइएको नेपाली सेनाले जनाएको छ। बेवारिसे विस्फोटक पदार्थ भेटिएमा सुरक्षित रहने उपाय र सुरक्षा निकायलाई खबर गर्ने तरिकाबारे पनि सचेतना दिइएको प्रमुख सेनानी श्रेष्ठले बताए।
उनका अनुसार मतदानका बेला सेना तेस्रो सुरक्षा घेरामा रहनेछ र मतदान केन्द्रभित्र प्रवेश गर्ने छैन। मतपेटिका ढुवानीका क्रममा सेनाले नछोईकन केवल ‘स्कर्टिङ’ र ‘पिकेटिङ’मार्फत सुरक्षा प्रदान गर्नेछ। जिल्लाका तीनै निर्वाचन क्षेत्रका मतगणना स्थलबाट अन्तिम नतिजा घोषणा नभएसम्म चौबीसै घण्टा पहरा दिने तयारी गरिएको छ।
प्रमुख सेनानी श्रेष्ठले निर्वाचन बिथोल्न खोज्ने वा हस्तक्षेप गर्न प्रयास गर्ने जो–कोहीलाई सुरक्षा कार्यविधिअनुसार कडा कारबाही गरिने चेतावनी दिए। उनले सेना ‘पर्ख र हेर’को अवस्थामा नरही आवश्यक परे तत्काल ‘एक्सन’मा जाने आदेश लिइसकेको बताए।
निर्वाचन सुरक्षाका लागि जिल्लामा नेपाली सेनासहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र म्यादी प्रहरी गरी आठ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिए।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार