Listen LIVE

कर्णालीमा विद्युतीकरण, अझै डेढ वर्ष लाग्ने

सुर्खेत : भौगोलिक विकटता, सामान ढुवानी गर्न कठिनाइलगायतका कारणले कर्णालीका १३ वटा पालिका अझै विद्युतविहीन रहेका छन् । डोल्पाका छ वटा, हुम्लाका चार वटा र मुगुका तीन वटा गरी १३ वटा पालिकामा अझै बिजुली पुग्न सकेको छैन । 

नेपाल विद्युत् प्राधिकरण प्रादेशिक निर्देशनालय सुर्खेतका अनुसार आगामी डेढ वर्ष बिजुली पुग्न नसकेका पालिकामा बिजुली पुर्याइसक्ने र त्यसपछि कर्णाली पूर्ण विद्युतीकरण प्रदेश बनाउने गरी काम भइरहेको छ । विद्युत् पुग्न नसकेको डोल्पाको डोल्पोबुद्ध, से फोक्सुन्डो, जगदुल्ला, मुड्केचुला, काइके र छार्काताङसोक गाउँपालिका, हुम्लाको सर्केगाड, चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिका तथा मुगुको मुगुम कार्मारोङ, सोरू र खत्याड गाउँपालिका रहेको निर्देशनालयले जनाएको छ । 

निर्देशनालयका निर्देशक शम्भु कुसियत यादवले कर्णाली प्रदेशका ७९ वटा पालिकामध्ये १३ वटा पालिका अझै पनि बिजुलीविहीन भएको बताए । केही अन्य पालिकामा विद्युत् प्रसारण लाइन पुगिसकेको जानकारी दिँदै उनले लाइन पुगेको पालिकामा विद्युत् दिने तयारी भइरहेको बताए । उनले अबको डेढ वर्षभित्र कर्णालीलाई पूर्ण विद्युतीकरण बनाउने तयारी पनि भइरहेको दाबी पनि गरे । 

उनका अनुसार ठेक्का खोलेर सामान पुर्याउने काम भइरहेको र सामान पुगेका स्थानमा जडानको काम पनि भइरहेकाले अबको डेढ वर्षभित्र कर्णालीका सबै पालिकामा विद्युत् पुग्ने छ । एसियन इन्फ्रास्ट्रक्चर बैङ्क (एआईबी) बाट करिब १२ अर्ब रुपैयाँको ठेक्का लगाइएको बताए । 

विद्युत् नपुगेका स्थानमा लघुजलविद्युत र सौर्य ऊर्जाबाट उज्यालो उपभोग गर्ने काम भइरहेको छ । कर्णालीमा विद्युतीकरण गर्न निकै चुनौती रहेको प्राधिकरणले जनाएको छ । 

कठिन भूगोल, सामानको ढुवानी महँगो, सामान तथा उपकरण पुर्याउने सकस, सडक पुग्न नसकेको अवस्था, जनशक्तिको कमी, तराईबाट कामदार लिनुपर्ने जस्ता विविध चुनौती भोग्नु परेको उहाँको भनाइ छ । यसका साथै कर्णालीमा वर्ष दिनमा चार पाँच महिना मात्र काम गर्ने अवस्था रहने भएकाले सोचे जति काम गर्न नसकिएको यादवले बताए । बर्सातमा पानी र हिउँदमा हिउँले गर्दा काम गर्न कठिन हुने उनको भनाइ छ ।

प्रतिक्रिया