Listen LIVE

बाँकेको सिमसारबाट हराउँदै जङ्गली धान

नेपालगञ्ज : बाँकेका प्राकृतिक सिमसार क्षेत्रमा पाइने जङ्गली धान यस वर्ष घट्दै गएको छ । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गिद्धेनी चौरमा गत वर्ष प्रशस्त देखिएको जङ्गली धान यस वर्ष एउटा बुटोसमेत नभेटिएको स्थानीयले बताएका छन् ।

कोहलपुर नगरपालिका–२, मनकामनाका चन्द्रबहादुर जिसीको नेतृत्वमा स्थानीयवासी तथा सामुदायिक वनका प्रतिनिधिको टोली करिब पाँच किलोमिटर हिलाम्मे गोरेटो बाटो पार गर्दै यसै साता जङ्गली धानको अवस्था बुझ्न गिद्धेनी चौर पुगेको थियो । पोखरीआसपासका क्षेत्रमा जङ्गली धान नदेखिएपछि टोलीले यसको कारणबारे चासो राखेको थियो ।

जिसीले भने, 'गत वर्ष यहाँ प्रशस्त जङ्गली धान थियो । यस वर्ष वन्यजन्तुलाई खानेपानीको सहज व्यवस्था गर्न पोखरी ठुलो बनाइयो । सफाइ र विस्तारका क्रममा जङ्गली धान नष्ट भएको हुन सक्छ ।'

स्थानीयका अनुसार वन्यजन्तुका लागि पानीको पोखरी विस्तार गर्दा आसपासका क्षेत्र सफा गरिएको र बर्सातको बाढीले सिमसारको स्वरूप परिवर्तन गरेपछि जङ्गली धान हराएको हुन सक्छ । जनएकता मध्यवर्ती सामुदायिक वनकी अध्यक्ष पुन्नीप्रभा मल्लले सिमसार क्षेत्र विस्तार गरी ठुलो पोखरी बनाइनु र वन्यजन्तुले घाँसका रूपमा खानुले पनि जङ्गली धान घटेको बताइन् ।

देउराली मध्यवर्ती सामुदायिक वनका अध्यक्ष लोकेन्द्रबहादुर खत्रीले पनि गिद्धेनी चौरमा गत वर्षसम्म बाक्लो देखिएको जङ्गली धान यस वर्ष नभेटिएको बताए ।

मल्लले भने, 'पहिले यो क्षेत्रमा सिमसार मात्र हुँदा जङ्गली धान प्रशस्त पाइन्थ्यो । बाढी र पोखरी विस्तारसँगै यो बिस्तारै हरायो । अब बाहिरबाट बिउ ल्याएर भए पनि पुनः रोप्ने र संरक्षण गर्ने सोच बनाएका छौँ ।'

जैविक विविधता संरक्षण अभियन्ता पुर्मल बस्नेतका अनुसार बाँके, बर्दिया र कैलालीका प्राकृतिक सिमसारमा पनि जङ्गली धानको उपस्थिति घट्दै गएको छ । उनी पाँच वर्षभन्दा बढी समयदेखि जङ्गली धानको खोजी तथा संरक्षणमा सव्रिmय छन् ।

बस्नेतले भने, 'स्थानीय तह, वडा र पालिकाका प्रतिनिधि तथा कृषि प्राविधिकले यसमा खासै चासो दिएका छैनन् । यो राष्ट्रको सम्पत्ति हो भनेर हामी व्यक्तिगत र सामुदायिक रूपमा संरक्षणमा लागिरहेका छौँ ।'

राष्ट्रिय कृषि अनुवांशिक स्रोतकेन्द्र (जिन बैङ्क) का प्राविधिक अधिकृत डा. मुकुन्द भट्टराईका अनुसार अध्ययनका क्रममा बाँके क्षेत्रमा मुख्य रूपमा 'निवारा' र 'रुफी फोगन' जातका जङ्गली धान भेटिएका थिए ।

भट्टराईका अनुसार गत वर्ष बाँकेका अधिकांश तालतलैया तथा सडक किनारका सिमसारमा ८० देखि ९० प्रतिशतसम्म जङ्गली धानको उपस्थिति देखिएको थियो । यस वर्ष भने कतिपय क्षेत्रमा यसको उपस्थिति शून्यमा झरेको छ भने केही स्थानमा २० देखि २५ प्रतिशत मात्र बाँकी छ ।

वैज्ञानिक अध्ययन अनुसार जङ्गली धान आधुनिक धानका जात विकासका लागि महìवपूर्ण आनुवंशिक स्रोत हो । यसमा रोग, कीरा, खडेरी तथा प्रतिकूल मौसमसँग जुध्न सक्ने गुणसम्बन्धी उपयोगी जिन पाइन्छन् । ती जिन पहिचान गरी आधुनिक धानका जातमा समावेश गर्न सके प्रतिकूल मौसम सहन सक्ने उन्नत जात विकास गर्न सकिने भट्टराईले बताए ।

यस क्षेत्रमा जङ्गली धानका अतिरिक्त जङ्गली केरा, अमिलो र जङ्गली कागती जस्ता वनस्पति पनि पाइने स्थानीयको भनाइ छ ।

प्रतिक्रिया