बर्दिया : कसगढ समुदायका व्यक्तिहरू बिहान उठ्ने बित्तिकै माटोसँग खेल्न व्यस्त हुन्छन् । परिवारका सदस्यहरू कोही खाली भेटिँदैनन् । कसैले विद्युतीय चक्रको सहायताले माटोको सामाग्री बनाउन व्यस्त हुन्छन् त कोही बनाएको सामाग्री सुकाउन मिलाउन, पकाउन, माटो मुछ्न र कोही तयार भएको माटोको सामाग्री बेच्नेलगायतको कर्ममा प्राय व्यस्त देखिन्छन् । कसगढ समुदायको यो दैनिकी हो ।
गुलरिया नगरपालिका वडा नम्बर ७ र ८ भन्सार रोडस्थित करिब एक दर्जन संख्यामा कसगढ समुदायको बसोबास गर्छन् । पुख्र्यौली पेसा अंगालेको यो समुदायको पेसा पछिल्लो समयमा धरापमा पर्दै गएको छ । केही वर्ष यता माटोको भाँडावर्तनको प्रयोग घट्न थालेपछि कसगढ समुदाय चिन्तित बन्दै गएको छ ।
पुख्र्यौली पेसामा मेहनत बढी आम्दानी कम भएपछि परिवार पाल्न मुस्किल भइरहेको कसगढ समुदायको भनाइ छ । पुख्र्यौली पेसा अंगालेर खर्च धान्न मुस्किल भएपछि यस समुदायका व्यक्तिहरू अन्य पेसा अपनाउन बाध्य भइरहेका छन् । साँझ बिहान पुख्र्यौली पेसाको कर्ममा व्यस्त भए पनि दिउँसोमा अटो रिक्सा चलाउने र इट्टा भट्टामा गएर मजदुरी गर्न बाध्य छन् ।
कसगढ समुदायले बिक्रीको लागि तयारी सामाग्री घर अगाडि राख्छन् । कसगढ समुदायले माटोको कलश, लाखबत्ति, दियो, पैसा जम्मा गर्ने भड्की, बच्चाहरूको खेलौनालगायतको सामाग्री बनाउँदै आएका छन् । पछिल्लो समयमा प्लास्टिक, काँच, स्टिल र फाइबरका भाँडा बर्तन चलेपछि माटोको सामाग्री लिन आउनेको संख्या विस्तारै घट्दै गएको गुलरिया नगरपालिका–८ की सहिदुन निसा कसगढले बताइन् ।
‘पहिलाको जस्तो व्यापार छैन,’ उनले भनिन्, ‘अन्य व्यापार गर्न लगानी चाहिन्छ, त्यो हामीसँग छैन ।’ बिक्री गर्न तयारी रहेको माटोको सामाग्री देखाउँदै उनले भनिन्,‘हेर्नुस् न सब त्यस्तै थुपारिएको छ । लिने मान्छेहरू धेरै आउँदैनन् । व्यापार भए नभए पनि चित्त बुझाउनुपर्छ ।’
आफ्नो खेतबारी नहुँदा माटोको सधैँ उल्झिन् हुने गरेको गुलरिया नगरपालिका–७ का ४० वर्षीय नानबाबु कसगढले बताए । ‘पुख्र्यौली पेसा छोड्न पनि सकिदैन,’ उनले भने,‘नछोडे दैनिकी चलाउन मुस्किल छ ।’ मुख अँध्यारो बनाउँदै उनले भने,‘महँगीले आकाश छोएको छ । ७ हजार रुपैयाँमा एक ट्रली माटो, ७ सय प्रति क्विन्टल भुसी र एक भारीको तीन सयको तयारी सामाग्री पकाउन दाउरा किन्नुपर्छ । तयार भएको माटोको सामाग्री सस्तोमा बिक्छ । यस पेसामा मेहनत, लगानी बढी गर्नुपर्छ, आम्दानी भने कम हुन्छ । मेहनत र लगानी अनुसार नाफा नहुँदा जहान पाल्नै गाह्रो भइरहेको छ ।’
पुख्र्यौली पेसा चौतर्फी संकटमा परेको गुलरिया नगरपालिका–८ का रज्जबली कसगढले बताए । ‘माटोको सामाग्रीको प्रयोग घट्दै गएको र बिक्री नभएको पिडा छदै छ,’ उनले भने, ‘यता सजिलै माटो पनि पाइँदैन ।’ ‘पहिला स्थानीय सरकार नहुँदा जताबाट पनि माटो ल्याउन सकिन्थ्यो। तर आजभोलि त्यस्तो छैन । सरकारी जग्गाबाट माटो ल्याउन पाइँदैन । महँगो हालेर किनेको माटो राम्रो नपर्दा मेहनत र लगानी दुवै खेर जान्छ । एक ट्रलीमा ३० प्रतिशत माटो खराब हुन्छ । माटोमा मिसावट हुँदा बनाएको सामाग्री पकाउँदा फुट्ने गरेको छ,’ उनले भने ।
कसगढ समुदायका अनुसार जिल्ला स्थित दीपावलीको बेला माटोको दियो बढी बिक्छ भने विवाह, ब्रतबन्धनलगायत धार्मिक कार्यको लागि खोज्छन् । त्यसैगरि सुर्खेत, कैलाली र दाङलगायतका छिमेकी जिल्लाका पुजा सामाग्री डिलरले माटोको सामाग्रीको माग गर्छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार