Listen LIVE

२५ सयबाट शुरु गरिएको सहकारीको पुँजी ३१ करोड

प्यूठान : २८ वर्षअघि दर्ता भएको एउटा बचत तथा ऋण सहकारी अहिले प्युठान जिल्लाकै उत्कृष्ट सहकारीको रूपमा स्थापित छ । २०५५ सालमा तत्कालीन खैरा गाउँका १३ जना युवाले दुई हजार पाँच सय रुपैयाँ बचत सङ्कलन गरी स्थापना गरेको सहकारीमा अहिले करोडौंको पुँजी जम्मा भएको छ ।

२०५५ साउन २ गते फूलबारी बचत तथा ऋण सहकारी संस्थाको रूपमा दर्ता भएको सहकारी २०७९ मा विजयलक्ष्मी महिला बहुउद्देश्यीय सहकारी संस्थासँग एकीकरण भई अहिलेको विजय फूलबारी वचत तथा ऋण सहकारी संस्था लिमिटेड बनेको हो । सहकारीमा हाल ५ हजार ९४९ जना सदस्य आबद्ध रहेको व्यवस्थापक प्रकाश वैद्यले जानकारी दिए ।

२०८२ चैत मसान्तसम्मको वित्तिय विवरण अनुसार ३१ करोड २२ लाख ५ सय ७२ रुपैयाँ कुल पुँजी रहेको छ । जसमा स्थिर सम्पत्ति ७८ लाख २६ हजार ७४१ रुपैयाँ ५३ पैसा, वित्तीय लगानीहरू १ करोड ११ लाख २२ हजार ४४१ रुपैयाँ ८३ पैसा, लगानीमा रहेको ऋण १८ करोड ४० लाख ३६ हजार ८२४ रुपैयाँ रहेको छ । 

बचत निक्षेप २४ करोड ८१ लाख ७७ हजार ६ सय १०, शेयर पुँजी २ करोड ५५ लाख ४६ हजार ९ सय, जगेडा कोष २ करोड ५ लाख ६७ हजार ८ सय ५६ र ऋण सुरक्षण कोष ७९ लाख ४६ हजार ८ सय ३९ रुपैयाँ रहेको छ । 

बचत सङ्कलन र ऋण प्रवाह मात्र नगरी सदस्यको जन्मदेखि मृत्युसम्मको सारथी बन्दै आएको छ । सदस्यहरूको एक लाख विमाङ्कको दुर्घटना बिमा सहकारीले गरेको छ । कोसेलीसहित सुत्केरी भेटघाट र नवजात सिशुलाई प्रोत्साहन रकम दिइ सो रकमबाट नवशिशु बचत खाता सञ्चालन हुन्छ । सहकारीले सदस्यहरूको निधन भएमा २५ हजार रुपैयाँ राहत सहयोग र एकाघरका परिवारका सदस्यको निधन भएमा ५ हजार रुपैयाँ घाटखर्च उपलब्ध गराउँदै आएको व्यवस्थापक वैद्यले बताए । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घले सहकारीहरूको स्वःनियम र गुणस्तर मानकीकरणका लागि तयार गरिएको राष्ट्रियस्तरको गुणस्तरीय सुनिश्चितता कार्यक्रम अन्तर्गत प्रदान गर्ने प्रोबेसन ब्रान्ड समेत प्राप्त गरेको अध्यक्ष नेत्रमणि आचार्यले बताए । 

हाल एसियाली स्तरको अन्तर्राष्ट्रियस्तरको गुणस्तर प्राप्त गर्ने एक्सेस कार्यक्रममा सहभागी भई कार्यक्रमको मापदण्ड अनुसार आफ्नो काम कारबाहीलाई अघि बढाएको उनले बताए ।

प्रतिक्रिया